जनजागरण समाजको १५ औँ साधारण सभा सम्पन्न


बाँके । जनजागरण समाज खजुराले बुधबार १५ औँ साधारण सभा तथा अधिवेशन सम्पन्न गरेको छ । साधारण सभामा प्रमुख अथिति खजुरा गाउँपालिकाकी उपाध्यक्ष एकमाया विकले आफ्नो मन्तव्य व्यक्त गर्दै गरिब विपन्न परिवारको जनजिविका बढवा दिनका लागि आफु र गाउँपालिका सँगसँगै रहने बताएकी छन् ।
सबै भन्दा पछाडि परेका महिला, दलित, पिछडिएका वर्ग उत्थान र विकासका लागि समुदायको कार्य सञ्जाल जनजागरण समाजले गरेको कामलाई स्थानीय तहले आत्मसाथ गर्नु पर्ने उपाध्यक्ष विकले बताइन ।
अध्यक्ष होम राज कुर्मीले जनजागरण समाजले स्थापना कालदेखि सबै भन्दा बढी पीडित उपेक्षित वर्गका पक्षमा काम गर्दै आएकोले हामी सामाजिक, आर्थिक शैक्षिक र स्वास्थ्य क्षेत्रमा यी वर्गमा सानै भए पनि सुधार गरेको भन्दै भौतिक रुपले समाजको आफ्नै भवन पनि निर्माण गरेको बताए ।


वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सचिव सदस्य रामबहादुर पुनले साविकका सोनपुर, रनियापुर, बागेश्वरी, बेलहरी, इन्द्रपुर, बेलभार, साइगाउँ र प्रस्पुरमा कार्य क्षेत्र बनाएर काम गरिरहेको जानकारी दिए ।
यी क्षेत्रका लक्षित वर्गको दिगो जिविको उपार्जनका लागि स्थानीय अग्रसर कार्यक्रम, दिगो विकासका लागि स्थानीय शान्ति निर्माण कार्यक्रम र सहकारी व्यवस्थापनमा सहयोग गरेको बताए ।
२०५९ सालमा स्थापना भएको जनजागरण समाजमा १३३ समुहमा १७ सय ७८ महिला, ८ सय १८ पुरुष गरि जम्मा २५ सय ९७ सदस्य रहेका छन् । समाजले पशु पालन, तरकारी खेती, विउ व्यवस्थापन, विउ उत्पादन, जलवायु अनुकुलन, शिलाइकटाई, स्थानीय स्रोत परिचालन, शुसान, महिला अधिकार, नेतृत्व विकास कार्यक्रम गर्दै आएको छ ।
यसका साथै धार्मिक सहिष्णुता , युवा क्लव मार्फत युव परिचालन , आयमुलक सिप विकास, मदरासा शिक्षाको सुधार जस्ता काम गर्दै आएको छ ।


कार्यक्रममा जानकी गाउँपालिका वडां नं. ५ का वडा अध्यक्ष रमेश वर्मा, लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । संस्थाकी कोषाध्यक्ष निरुल निशाले एक वर्षकोे ११ करोड ७ लाख १३ हजार ३ सय १२ को आर्थिक आयव्यय प्रस्तुत गरेकी थिइन । आजनै नयाँ कार्य समिति चयन हुने छ ।
यसैबीच, संस्थाको अभियानको पक्षमा सञ्चार पैरवी गरेकोमा रेडियो हातेमालो, पत्रकार विश्वराज पछल्डङ्ग्या र खगेन्द्र दाहाललाई सम्मान पत्र प्रदान गरि सम्मानित गरिएको थियो ।