सामाजिक सञ्जालमा आएको आधारहिन समाचार प्रति प्रधामन्त्रीको आपत्ति

काठमाडौँ । स्थगितप्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल र केही डिजिटल मिडियाबाट आफ्नो स्वास्थ्य अवस्थाका बारेमा आधारहिन प्रचार भएकोप्रति आपत्ति जनाएका छन्। मंगलबारसाँझ अस्पतालबाटै सन्देश सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले अनावश्यक रुपमा सनसनी बनाएर गरिएका प्रचारवाजीबारे आफू जानकार रहेको भन्दै यस्तो बताएका हुन्।

‘सामाजिक सञ्जाल तथा केही कुत्सित मनसाय बोकेका डिजिटल मिडियाबाट मेरो स्वास्थ्य अवस्थाका बारेमा गरिएको आधारहिन प्रचार तथा विषयलाई अनावश्यक रुपमा सनसनीपूर्ण बनाएर गरिएको प्रजारबाजीको मलाई जानकारी छ’, प्रधानमन्त्रीको सन्देशमा भनिएको छ, ‘यसप्रकारका भ्रामक प्रचारबाट प्रभावित नहुन सबैलाई हार्दिक अनुरोधसमेत गर्दछु।’
सन्देशमा ओलीले आफू अस्पतालबाट चाँडै नै फर्कने र समृद्ध नेपालको सपना साकार पार्न सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रधानमन्त्री ओलीले मुलुकका केही भागमा घटेका घटनाप्रति चासो व्यक्त गर्दै त्यसमा आफू संवेदनशील भएको उल्लेख समेत गरेका छन्।