बाँके । खजुरागाउँपालिका क्षेत्रभित्र रहेका मेलमिलापकर्तालाई आधारभूत प्रशिक्षणपछि सोमबार (आज) सपथ खुवाइएको छ । वडाका न्यायाधिशका रुपमा रहेका मेलमिलापकर्तालाई खजुरा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसीले सपथ खुवाएका हुन् ।
न्यायिक समितिलाई सहयोग पुग्ने गरी गाउँगाउँमा मेलमिलाप तथा विवाद समाधान कर्ताहरु छनौट गरेर खजुरा गाउँपालिका ८ वडाबाट २७ जना मेलमिलापकर्तालाई तालिम दिइएको थियो । अधिवक्ता भानुभक्त रिजाल र राधेश्याम थारुले उनीहरुलाई प्रशिक्षण दिए । तालिम समापनमा बोल्दै खजुरा गाउँपालिका उपप्रमख एकमाया विकले फौजदारी मुद्दा बाहेक अन्य मुद्दाहरु गाउँमै समाधान गर्ने उद्देश्यले स्थानीय सरकार संचालन ऐन २०७४ ले व्यवस्था गरे अनुरुप नै मेलमिलापकर्तालाई तालिम दिइएकोे बताइन ।
तालिममा सहभागी यामबहादुर महताराले तालिम सहयोगी सिद्ध भएको बताउँदै कसैको जित र कसैको हार नहुने विधि अपनाएर मेलमिलाप गराउने बताए । कार्यक्रममा खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले स्थानीय मेलमिलापकर्ताको सक्रियताले गाउँमा शान्ति र अमन चयन र सबैले न्यायको अनुभूति गर्ने बताए । उनले मिलापकर्तालाई स्वायत्तता दिएको भन्दै कुनै पूर्वाग्रह नराखेर निष्पक्ष ढंगबाट विवाद समाधान गर्ने विश्वास व्यक्त गरे ।
गाउँपालिकाकी सहायक महिला विकास निरीक्षक सुशिला न्यौपाने संचालन गरेको कार्यक्रममा खजुरा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसी वडाध्यक्षलगायतको सहभागिता रहेको थियो ।
यसैबीच, खजुरा गाउँपालिकाले भिलेज प्रोफाइल र गुरुयोजनाका लागि तयारी अगाडि बढाएको छ । विकास सूचकका लागि पाश्र्वचित्र र गुरुयोजना बनाउन लागिएको हो । चालू आर्थिक वर्षमै यी दुबै काम सम्पन्न गर्ने गरी तयारी अगाडि बढाइएको खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले बताए ।
भिलेज प्रोफाइल र गुरुयोजनाका लागि आज सोमबार परामर्शदाता तथा विज्ञ समूह र गाउँपालिका टीम बीच बृहत छलफल भएको छ । परामर्शदाता डा. सुनिल आचार्य, डा. गोकर्ण ज्ञावली, शहरी विकास विद् दीपक श्रेष्ठ, अर्थविद् हुमलाल भण्डारीले भिलेज प्रोफाइल र गुरुयोजनाका लागि आधारपत्र प्रस्ततु गरे ।
वडामा गणक छनौट गरेर तालिम पश्चात एकैसाथ ८ वटा वडामै पाश्र्व चित्रको काम अगाडि बढाइने खजुरा गाउँपालिका योजना प्रमुख दिलबहादुर पौडेलले जानकारी दिए ।