थाइल्याण्डले नेपाललाई १२२ रनको चुनौती

बाँके । महिला टि–२० स्म्यास क्रिकेट प्रतियोगिताको उपाधिका लागि थाइल्याण्डले नेपाललाई १२२ रनको चुनौती दिएको छ । घरेलु टोलीले उत्कृष्ठ ब्याटिङ गरेपछि नेपालले ठुलो लक्ष्य पाएको हो । उसका लागि ओपनर नत्थाकन चन्थानले अर्धशतक पारी खेलिन् ।

टस हारेर ब्याटिङको निम्तो पाएको थाइल्याण्डले निर्धारित २० ओभरमा एक विकेट गुमाएर १२१ रन बनाएको हो । नत्थाकनले ६७ बलमा ४ चौका प्रहार गर्दै अविजित ६९ रन बनाइन् । यस्तै, नरुमोल चाइवुइ २७ रन जोडेर खेल्दै गर्दा रुविना क्षेत्रीले रन आउट बनाइन् । नेपाली बलर निरिह भएको खेलमा चनिदा सुथिरुङ्गाले ११ बलमा अविजित १९ रन बनाइन् ।

सन् २००७ बाट अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको नेपाली महिला क्रिकेट टोली पहिलो उपाधिका लागि फाइनल खेलिरहेको छ । नेपाल र थाइल्याण्ड प्रतियोगितामा अपराजित हुँदै फाइनलमा पुगेका हुन्।