पाकिस्तान र भारतबीच क्रिकेट, नेपाली समयअनुसार दिउँसो ३ बजेर १५ मिनेटमा

बाँके । विश्वकप क्रिकेटमा आज पाकिस्तान र भारतबीच खेल हुँदैछ । आजको खेल यसैपनि विश्वकप खेल भएपनि भारत पाकिस्तानको साँढे जुजाईको घम्साघम्सी खेलाडीको हुने छ भने दर्शक समर्थकको झनै उत्साहले भरिएको दृष्य हुने छ । इंग्ल्यान्डको म्यान्चेस्टरमा नेपाली समयअनुसार दिउँसो ३ बजेर १५ मिनेटमा दुई कट्टर प्रतिद्वन्द्वी पाकिस्तान र भारतबीचको खेल हुँदैछ । दुवै टिम आफ्नो देशको प्रतिष्ठाको लडाईँको रुपमा लिँदै जित हात पार्ने दाउमा छन् ।

विश्वकप क्रिकेटकै सबैभन्दा रोचक र उत्कृष्ट खेल आज पाकिस्तान र भारतबीच हुनेछ । जारी विश्वकपमा दुई खेलमा हार, एक खेलमा जित र एक खेलमा वर्षाको कारण अंक बाँडेको पाकिस्तान आजको खेल जसरी पनि जित्न चाहन्छ । यता, भारत भने तेस्रो जितको खोजिमा हुनेछ । पहिलो खेलमा दक्षिण अफ्रिकालाई पराजित गरेको भारतले दोस्रो खेलमा अष्ट्रेलियालाई हराएको थियो ।

पाकिस्तानको ब्याटिङ, बलिङ राम्रै भए पनि फिल्डिङ निकै फितलो रहेको छ । अष्ट्रेलियाविरुद्धको हारमा पनि फिल्डिङ मुख्य कारण बन्यो । आजको खेलमा भारतमाथि जित हात पार्नका लागि पाकिस्तानको ब्याटिङ बलिङको साथै फिल्डिङ पनि राम्रो हुनुपर्छ ।

यता, भारत भने निकै बलियो स्थितिमा देखिन्छ । भारतको तीनै पक्ष बलियो देखिएको छ । ब्याटिङ र बलिङ उत्कृष्ट छ । भारतीय ब्याट्सम्यान उच्च लयमा देखिन्छन् ।