बाँके । बाँकेको जानकी गाउँपालिका–६ स्थित गनापुर स्वास्थ्यचौकीको प्राङ्गणमै प्रहरी चौकी भएका कारण सेवा लिन समस्या भएको स्थानीयले गुनासो गरेका छन् ।
जानकी गाउँपालिका स्वास्थ्य शाखाको आयोजना तथा हातेमालो सञ्चार समूहको सहजिकरणमा सोमवार आयोजित गनापुर स्वास्थ्य चौकीको सामाजिक लेखा परीक्षण तथा सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागि सेवाग्राहीले यस्तो गुनासो गरेका हुन् ।
स्वास्थ्य चौकीमा सञ्चालित प्रसुति केन्द्रको सामुन्नेमै प्रहरी चौकी भएका कारण लाज मानेरै कयौ महिला स्वास्थ्यचौकी नआउने गरेको उनीहरुले बताए ।
स्वास्थ्य चौकी प्रमुख आरती थारुले सार्वजनिक सुनुवाईमा स्वास्थ्य चौकीको वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गर्दै सेवाग्राहीले उठाएको सवाल जायज रहेको बताउनुभयो ।
स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष एवम् जानकी गाउँपालिका वडा नं.६ का अध्यक्ष सुरेश यादवले सार्वजनिक सुनुवाईमा उठेका सवालको जवाफ दिदै सुत्केरी हुन आउने महिलाले समस्या झेल्नु परेको स्वीकार गर्नुभयो ।
उहाँले आगामी आर्थिक वर्षमै स्वास्थ्य चौकीको प्रांगणबाट प्रहरीचौकीलाई अन्यत्र व्यवस्थापन गरिने बताउनुभयो ।
सामाजिक लेखा परीक्षण तथा सार्वजनिक सुनवाई कार्यक्रमबाट स्वास्थ्य चौकीको प्रांगणबाट प्रहरी चौकीलाई स्थानान्तरण गर्ने, खोप केन्द्र क्लिनिकलाई व्यवस्थित गर्ने लगायतका पाँच वुदे प्रतिवद्धता व्यक्त गरिएको छ ।