बाँके । सूचना र मानवअधिकार अनुसन्धान केन्द्रको सामाजिक परिक्षण प्रतिबेदन सार्वजनिक गरिएको छ । शनिबार गरिएको कार्यक्रममा संस्थाले आर्थिक वर्ष ०७५।०७६ मा गरेका क्रियाकलाप तथा संस्थागत कार्यप्रगतिको समिक्षा लगायतका बारेमा तयार गरिएको प्रतिबेदन सार्वजनिक गरिएको थियो ।
सामाजिक परिक्षक युवराज पोख्रेलले प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत प्रतिबेदनपछि सहभागि सरोकारवालाहरुले संस्थाले संचालन गरेका कार्य तथा प्रगतिका बारेमा आ आफनो कुरा राखेका थिए । संस्थाले सूचनाको हक, कानून, सुशासन र मानवअधिकारका सवालमा समुदायस्तरमा संचालन गरिएको क्रियाकलापले परिवर्तन ल्याएको कार्यक्रममा जानकारी गराइएको थियो ।
संस्था परियोजनामुखी नभई नागरिक अभियानका रुपमा काम गर्दै आएको छ भने विभिन्न सार्वजनिक सवालमा वकालत गर्दै आएको संस्थाका अध्यक्ष विश्वजीत तिवारीले बताउनुभयो । कार्यक्रममा जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय कुमार श्रीवास्तवले संस्थाले विशेष गरि स्थानीय तहमा सुशासनका लागि गरेको नागरिक खबरदारीको प्रशंसा गर्नुभयो । उहाँले स्थानीय तह तथा सेवाग्राहीको चाप बढी हुने कार्यालयहरुमा प्रयोग गरिने सुशासनको औजार तथा नागरिक खबरदारी अभियानले भ्रष्टाचार तथा अनियमिततामा कमी आएको बताउनुभयो ।
संस्थाका उपाध्यक्ष कृष्णमुरारी प्रसाद भट्टको सभापतित्वमा सम्पन्न कार्यक्रममा गैसस बाँकेका सदस्य सुर्यलाल यादव, अगुवा महिला शोभना मिश्र, सरिता ज्ञवाली, नागरिक अगुवा बेदप्रसाद आचार्य, पत्रकार कमल केसी, अधिकारकर्मी रविन्द्र कर्ण, आलम खान लगायतले बोल्नु भएको थियो । कार्यक्रममा संस्थाका कार्यकारी निर्देशक राकेशकुमार मिश्रले संस्थाले संचालन गर्ने विभिन्न उद्देश्य, कार्यक्रम, उपलब्धीका बारेमा जानकारी गराउनुभएको थियो ।
संस्थाले अहिले विशेष गरि बाँके र बर्दिया जिल्लामा काम गर्दै आएको छ । संस्थालाई आगामी दिनमा थप सेवा बृद्धि तथा सुधारका लागि लक्षितवर्ग तथा अन्य सरोकारवाला निकायसंग भेटेर सामाजिक परिक्षण निर्देशिका २०६७ अनुसार प्रतिबेदन तयार गरिएको हो ।