नेपालगन्जमा सर्वाधिक धनराशिको स्पिच कम्पिटिसन हुँदै

बाँके । नेपालगन्जमा सर्वाधिक धनराशिको स्पिच कम्पिटिसन हुने भएको छ । नेपालगन्ज स्पिच कम्पिटिसन २०२० नाम दिएर सम्भवत यस क्षेत्रकै सर्वाधिक धनराशि पुरस्कार सहितको कार्यक्रम नागरिक समाज डटकमले आयोजना गर्न लागेको हो।

आयोजक टिमले सोमबार नेपालगन्जमा “स्पिच कम्पिटिसन”को अफिसिएल टिसर्ट सार्वजनिक गर्दै औपचारिक जानकारी दिएको हो।

नेकपा बाँकेका जिल्ला कमिटी सदस्य तथा संचार बिज्ञ डिल्ली बिसी, राष्ट्रिय युवा संघका केन्द्रिय सदस्य किशोर थापा, नागरिक समाजका अध्यक्ष एवम कार्यकारी सम्पादक रामु ओली, कार्यक्रम कोअर्डिनेटर खगेन्द्र दाहाल र सुनिल रसाइलीद्वारा टिसर्ट सार्वजनिक गरिएको हो।

बोल्न सक्ने व्यक्तिहरुको क्षमताहरुको प्रस्फुटन तथा माध्यम दिने उद्देश्यले उक्त कम्पिटिसनको आयोजना गर्न लागिएको नागरिक समाज डटकमका अध्यक्ष रामु ओलीले बताए।

कम्पिटिसनमा ३० वर्ष मुनिका व्यक्तिले सहभागीता जनाउन सक्ने “नेपालगन्ज स्पिच कम्पिटिसन २०२०” का इभेन्ट कोअर्डिनेटर खगेन्द्र दाहालले जानकारी दिए।

दाहालका अनुसार कम्पिटिसन दुई चरणमा हुनेछ। पहिलो चरणमा प्रतियोगीले आफैले ल्याएको शिर्षकमा प्रस्तुति दिनुपर्नेछ भने दोस्रो चरणको लागि भने आयोजकले दिएको शिर्षकमा प्रस्तुति दिनु पर्नेछ। पहिलो चरणको प्रतिस्पर्धा फाल्गुन ३ गते हुनेछ।

कम्पिटिसनमा प्रथम हुनेलाई नगद रु. ३० हजार, दोस्रो हुनेलाई २० हजार र तेस्रो हुनेलाई १० हजार पुरस्कार रहेको आयोजकले जनाएको छ।

त्यस्तै, आयोजकले प्रतियोगिको लागि भिवर्स च्वाइस पुरस्कारको व्यवस्था पनि गरेको छ। जसका लागि प्रतिस्पर्धीले प्रतिस्पर्धामा दिएको प्रस्तुतिको भिडियो नागरिक समाजको अफिसियल फेसबुक पेजमा अपलोड गरिनेछ। अपलोड गरिएका मध्ये जसको भिडियोमा धेरै भियुज आउँछ, उसैलाई भिवर्स च्वाइस पुरस्कार प्रदान गरिनेछ।

भिवर्स च्वाइस अवार्डका विजेतालाई नगद रु. ५ हजार प्रदान गरिने आयोजकले बताएको छ। खुला प्रतियोगिता भएकाले ईच्छुकले नाम दर्ता गर्न आयोजकले अनुरोध समेत गरेको छ ।

रामु वली, नेपालगन्ज