जमुनाहा नाकाबाट ६ सय ८७ नेपाली प्रवेश, आरडिटी परिक्षण गरिदै

बाँकेको नेपाल भारत सिमा जमुनाह नाकाबाट बिहिबार मध्येराती एकैदिन ६ सय ८७ नेपाली नागरिक नेपाल प्रवेश गरेका छन । रोजगारको शिलशिलामा भारतको विभिन्न स्थानबाट काम गरेर फर्कदा भारतको बहराइच जिल्लाको विभिन्न ठाउँमा अलपत्र परेका, भारतीय सिमा क्षेत्रमा अलपत्र परेका तथा नानपाराको विभिन्न क्वारेन्टाईनमा बस्दै आएका नेपालीहरुलाई उद्धार गरी बिहिबार मध्येराती नेपाल प्रवेश गराइएको हो ।

बाँके प्रशासन र भारतिय समकक्षी बहराइच प्रशासनबिच सिमानाका आसपास अलपत्र परेका दुबै देशका नागरिकलाई उद्दार गरेर आ-आफ्नो देशमा जानदिने सहमती अनुसार चौध सय बढी भारतिय नागरिकहरुलाई उता पठाइएको तथा भारतबाट नेपाली नागरिकहरुलाई यता ल्याइएको बाँके प्रहरी प्रमुख बिरबहादुर ओलीले जानकारी दिनु भयो  । बिहीवार राती नेपाल प्रवेश गरेका सबै नेपाली नागरिक रातभरी जमुनाह नाकामै बसे । बाँके र बर्दियाका नागरिकलाई भने महेन्द्र बहुमुखी क्याम्पसमा निर्मित क्वारेन्टाइनमा राखिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक सुरज खत्रीले जानकारी दिनु भयो।

बहराइच प्रहरीबाट ७ सय १४ जना नेपाल आउने नेपाली नागरिकको नामावली आएपनि बिहिबार रातिसम्म ६ सय ८७ नेपाली नागरिक नेपाल प्रवेश गरेको खत्रीले जानकारी दिए । जसमध्ये, बाँके र बर्दियाका २ सय २१ लाई महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएको र बाँकी ६ सय ८७ जना जमुनाहमै बसेको उहाँले जानकारी दिनु भयो  । शुक्रबार विहान नेपाली नागरिकको जिल्ला अनुसार नामावली संकलन गर्ने कार्य भैरहेको जानकारी दिनु भयो ।

जिल्ला अनुसारको नामावली छुट्टाइ सकेपछी उनिहरुको आरडिटी जाँच पश्चात् बाँके र बर्दियाकालाई स्थानिय तहको जिम्मा लगाइने र बाहिरी जिल्लाका नागरिकलाई प्रशासनबाट पास बनाई बसको व्यवस्थापन गरि सम्बन्धित जिल्लाको प्रशासनसङ्गको समन्वयमा आजै जिल्ला पठाइने प्रहरी निरीक्षक खत्रीले जानकारी दिए । नेपाल प्रवेश गरेका सबै नेपाली नागरिकहरुको आरडिटी जाँच गरिने जिल्ला स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनु भयो । अहिले जमुनाह नाकामा बसेका बाहिरी जिल्लाका ६ सय ८७ नागरिकको जमुनाहमै नेपाली सेनाद्वारा निर्मित टेन्टमा आरडिटी जाँच शुरु गरिएको श्रेष्ठले जानकारी दिनु भयो ।

आरडीटी जाँचमा नेगेटिभ देखिए आ-आफ्नो गृह जिल्ला पठाइने र यदी पोजेटिभ देखिएमा थप जाँचका लागि कोरोना अस्पताल पठाउने गरि तैयारी गरिएको फोकल पर्सन श्रेष्ठले जानकारी दिनु भयो। नेपालगन्ज उपमहानगरपालिकाले व्यवस्थापन गरेको महेन्द्र बहुमुखी क्यामपसमा राखिएका बाँके र बर्दियाका २ सय २१ नागरिकको पनि आरडिटी परिक्षण पश्चात् सम्बन्धित पालिकामा पठाइने उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख राम बहादुर चन्दले जानकारी दिनु भयो ।

बाँके प्रशासन र भारतिय समकक्षी बहराइच प्रशासनबिच सिमा नाका आसपास अलपत्र परेका दुबै देशका नागरिकलाई उद्दार गरेर आ-आफ्नो देशमा जानदिने सहमती अनुसार बिहिबार राती नै चौध सय बढी भारतिय नागरिकहरुलाई भारत पठाइसकिएको छ ।