आइपिएल फाइनल:दिल्लीलाई इतिहास रच्‍ने अवसर


युएईमा जारी १३औँ सिजनको इन्डियन प्रिमियर लिग आइपिएल को फाइनल आज हुँदैछ। यो पटक उपाधिका लागि दिल्ली क्यापिटल्स र मुम्बई इण्डियन्स खेल्न लागेका हुन्। यी दुईबीचको खेल नेपाली समयअनुसार साँझ ७ः४५ बजेदेखि दुबईमा सुरु हुनेछ।

आइपिएल २०२० मा दुबै टिमले राम्रो गर्दै फाइनलसम्मको यात्रा गरेका हुन्। मुम्बईले दिल्लीलाई हराउँदै फाइनलमा स्थान बनाएको हो। दिल्लीले आइतबार राति सनराइजर्स हैदराबादलाई हराउँदै पहिलो पटक फाइनलको टिकट काट्न सफल भयो।

दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा मुम्बई र दिल्ली उपाधि उचाल्ने लक्ष्यसहित मैदान उत्रने छन्। तुलनात्मक रूपमा जारी सिजनमा दिल्लीभन्दा मुम्बई बलियो देखिएको छ। उसले दिल्लीलाई पहिलो क्वालिफायर र लिग चरणका दुबै खेलमा पराजित गरेको थियो।

दिल्लीले सुरुवातका म्याचमा राम्रो सुरुवात गरे पनि पछिल्लो खेलमा खराब लय समातेको थियो। यद्यपि क्वालिफायर–२ मा हैदराबादविरुद्ध भने दिल्लीले फेरि लय देखाएको छ। फाइनलमा पनि त्यही लय कायमै राखे मुम्बई र दिल्लीको म्याच रोमाञ्चक हुने अनुमान गरिएको छ।

१३ औँ सिजनसम्म आइपुग्दा दिल्लीले उपाधि जित्न सकेको छैन। तर, मुम्बईले भने चार पटक आइपिएल ट्रफी हात पारिसकेको छ। मुम्बई गत सिजनको विजेता टिम पनि हो।

रोहित शर्माको कप्तानीमा मैदान उत्रने मुम्बई आइपिएलकै सर्वाधिक सफल टिम हो। दुबईमा दिल्लीलाई हराएर मुम्बई पाँचौँ उपाधि आफ्नो बनाउन चाहन्छ। मुम्बईले फाइनल खेल्न लागेको यो छैटौं पटक हो। तर, श्रेयस अयरको कप्तानीमा मैदान उत्रने दिल्लीको इतिहास भने मुम्बईको ठीकविपरीत छ।

यसअघि १२ औं संस्करणसम्म फाइनल पुग्न नसकेको दिल्ली पहिलो पटक फाइनल पुग्दै इतिहास रच्न सफल भएको छ। अब उपाधि जित्दै अर्को इतिहास बनाउन चाहन्छ। तर, बलियो टिम मुम्बईविरुद्ध जित निकाल्न दिल्लीलाई सहज भने छैन।

दिल्ली अघिल्ला तीन खेलमा बेहोरेको हारको बदला लिन पनि चाहन्छ। लिग चरणको पहिलो खेल मुम्बईले दिल्लीमाथि ५ र दोस्रो खेल ९ विकेटको जित निकालेको थियो। यस्तै पहिलो क्वालिफायरमा दिल्लीलाई ५७ रनले हराएर मुम्बई फाइनलमा पुगेको हो।

पहिलो क्वालिफायरमा हार ब्यहोरे पनि दिल्लीले दोस्रो क्वालिफायरमा जित निकाल्दै पुनः मुम्बईसँगको भेट पक्का गरेको हो। दिल्लीले दोस्रो क्वालिफायरमा सनराइजर्स हैदराबादलाई १७ रनले हराएको थियो।

दिल्लीबाट लगातार तेस्रो सिजन आइपिएल खेलिरहेका नेपाली लेग स्पिनर सन्दीप लामिछानेले फाइनलमा खेल्न पाउने सम्भावना निकै कम रहेको छ। यसवर्ष सन्दीपले मैदान उत्रने मौका पाएका छैनन्। उनी बेन्चमै सिमित हुँदै आइरहेका छन्।

मुम्बईको प्रदर्शन

यस सिजन अघि युएईमा मुम्बई इन्डियन्सको प्रदर्शन त्यति राम्रो थिएन। टोलीले यसवर्ष औसत प्रदर्शन दिन सक्षम रहेको छ।

यस सिजनमा मुम्बईको सुरुवात पनि राम्रो रहन सकेन। पहिलो खेलमा चेन्नई सुपर किंग्ससँग पराजित भएको थियो। साविक विजेता मुम्बई पराजय पछि जितेको लय समात्यो। र, फाइनलमा पुग्यो।

अंक तालिकामा १८ अंकका साथ लिग चरणमा शीर्ष स्थानमा रहँदै मुम्बईले प्लेअफ पुग्यो। पहिलो क्वालिफायरमा दिल्लीलाई ५७ रनले हरायो। मुम्बई एकपटक फेरि दिल्लीलाई हराउँदै उपाधि जित्न चाहन्छ।

मुम्बईका प्राय सबै खेलाडीहरू फर्ममा छन्। ब्याटिङमा सूर्यकुमार यादव, इशान किशन, हार्दिक पाण्ड्या र किरोन पोलार्ड क्विन्टन डिकक राम्रो खेलिरहेका छन्। उसका जसप्रीत बुमराह र ट्रेन्ट बोल्टले लगातार घातक बलिङ गरिरहेका छन्।

दुबईको बाउन्ड्री ठूलो हुँदा स्पिनरको प्रर्दशन निकै महत्वपूर्ण हुनेछ। रविचन्द्रन आश्विनले क्वालिफायरमा मुम्बईविरुद्ध ३ विकेट लिएका थिए। आश्विन र अक्षरलाई उत्कृष्ट प्रर्दशनको आवश्यक देखिन्छ।

मुम्बईको सम्भावित प्लेइङ ११

क्विन्टन डिकक, रोहित शर्मा ९कप्तान०, इशान किशन, सूर्यकुमार यादव, हार्दिक पाण्ड्या, किरण पोलार्ड, कृणाल पाण्ड्या, राहुल चहर, नाथनकुल्टर नाइल, जेम्स प्याटिन्सन÷ट्रेन्ट बोल्ट र जसप्रीत बुमराह।

दिल्लीको सम्भावित प्लेइङ ११

शिखर धवन, मार्कस स्टोइनिस, अजिंक्य रहाणे, श्रेयस अय्यर ९कप्तान०, ऋषभ पन्त, अक्क्षर पटेल, हर्षल पटेलरप्रवीण दुबे, शिमरोन हेटमायर, कागिसो रबाडा, रविचन्द्रन अश्विन र एनरिच नोर्टजे।