भेरी अस्पतालमा नेपाल प्रहरीले सुरक्षा दिन सुरु

भेरी अस्पतालका चिकित्सक र नर्सहरुमाथि हातपात, कुटपिट तथा दुर्व्यवहार हुन थालेपछि सुरक्षाका लागि अस्पतालमा २५ जना सुरक्षाकर्मीलाई तैनाथ गरिएको छ । बाँकेका काेराेना फाेकल पर्सन तेज वली फेसबुकवालमा लेख्दै शनिवारदेखि भेरी अस्पतालमा प्रहरी नायब निरीक्षक (सई)को नेतृत्वमा २५ जना सुरक्षाकर्मीलाई तैनाथ गरिएको बताउनुभयो । उहाँले भविष्यमा सुरक्षाकर्मीमाथि कसैले पनि आक्रमण र दुर्व्यवहार गर्न नपाओस् भन्ने उद्देश्यले अस्पतालमा अस्थायी प्रहरी युनिट नै स्थापना गरिएको बताउनुभयो ।
सुरक्षाका लागि जिल्ला  प्रहरी कार्यालयबाट सइ तोजेन्द्र विकको नेतृत्वमा दुई जना असईसहित २५ जना प्रहरीको टोलीलाई अस्पताल सुरक्षाका लागि शनिवारदेखि खटाइएको बताउनुभयो । अस्पतालमा सुरक्षाकर्मी तैनाथ गरिएपछि सुरक्षा हुने विश्वास गरिएको अस्पतालका प्रमुख डा. प्रकाश थापाले बताउनुभयो । उहाँले केही अराजक तत्वका कारण अस्पतालका सबै चिकित्सक र नर्सहरुले असुरक्षा महसुस गरेपछि प्रहरी माग गरिएकोमा तैनाथ गरिएपछि राहत महसुस भएको बताउनुभयो ।

दाङ तुलसीपुरका कोरोना सङ्क्रमित डिल्ली रावतको बिहीबार राती उपचारका क्रममा भेरी अस्पतालमा निधन भएपछि उहाँका आफन्तले अस्पतालमा तोडफोड गर्नुका साथै नर्स र चिकित्सकमाथि साङ्घातिक आक्रमण गरेर कुटपिट गरेका थिए ।
सो घट्नाको विरोधमा शुक्रवार दिनभरि अस्पतालमा आन्दोलन र देशभरि विरोध भएपछि घट्नामा संलग्नलाई पक्राउ गरेर ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको थियो भने छानबिन गर्न समिति पनि गठन गरिएको थियो । दोषीलाई कारवाही गर्ने र स्वास्थ्यकर्मीको सुरक्षाको व्यवस्था मिलाउने प्रतिबद्धता स्थानीय प्रशासनले दिएपछि स्वास्थ्यकर्मीहरु पुनः काममा फर्किएका थिए ।