चीनले दोस्रो पटक उपलब्ध गराएको कोराना भाइरस विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाएकाहरुलाई यही असार २२ गतेबाट दोस्रो मात्रा खोप लागइने भएको छ। सरकारले जेठ २५ गतेदेखि २९ गतेसम्म देशभर ६० देखि ६४ वर्ष उमेर समूहका नागारिकलाई पहिलो मात्रा खोप लगाएको थियो ।
स्वास्थ्य सेवा विभागको खोप शाखा प्रमुख डा.झलक शर्मा गौतमले पहिलो मात्रा लगाएका तीन लाख ७० हजार नागरिकलाई असार २२ गतेबाट दोस्रो मात्रा (बुस्टर डोज) खोप लगाइने तय भएको बताउनुभयो ।साथै अघिल्ला खोप अभियानमा भेरोसेल खोपको बुस्टर डोज अर्थात दोस्रो मात्रा लगाउन छुटेकाले समेत सो अवधिमा दोस्रो बुस्टर डोज लगाउन पाउने उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, यस अघि भेरोसेलको पहिलो मात्रा खोप लगाएका जुनसुकै उमेर समूहकाले दोस्रो मात्रा खोप लाउन पाउने छन् तर त्यसका लागि उनीहरूले पहिलो मात्रा खोप लगाएको कार्ड देखाउनु अनिवार्य हुने छ ।पछिल्लो पटक ६०–६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकले भेरोसेल खोपको पहिलो मात्रा लगाएका थिए ।