नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंगलवार तिलोत्तमाको मणिग्रामबाट विद्युतीय बस चढेर भैरहवा हुँदै लुम्बिनी पुगेका छन् सुन्दर यातायात प्रालि, बुटवलले सञ्चालनमा ल्याएको विद्युतीय सार्वजनिक बसको उद्घाटन गर्दै ओली त्यहीँ बस चढेर भैरहवा, लुम्बिनी हुँदै पुनः भैरहवा विमानस्थलमा पुगेका हुन् । ओलीसँगै एमाले उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेल, राष्ट्रिय सभा सदस्य गोपाल भट्टराई, प्रदेश सभा सदस्य लीला गिरी, भूमिश्वर ढकाल, बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी पनि ओलीसँगै गाडी चढेर लुम्बिनी पुग्नु भएकाे थियाे
लुम्बिनीमा आयोजित पार्टीको जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गरेर उनी भैरहवा विमानस्थलसम्म आएका थिए । ओली झण्डै ५५ किलोमिटर विद्युतीय बसमा चढेर यात्रा गरेको सुन्दर यातायात प्रालिका सञ्चालक डीआर घिमिरेले बताउनु भयाे ।
बस यात्रा गरेसँगै ओलीले विद्युतीय बस चल्ने जस्तै यस क्षेत्रका सडक लोभलाग्दा रहेको बताए । ‘नेपाल अब आधुनिकतातर्फ गइसक्यो,’ ओलीले भने, ‘अब यस्तै गाडी चलाउनुपर्छ । अब प्रदूषणरहित बस चलाउनुपर्छ, जसले हामीलाई व्यापार घाटा पनि कम गर्छ ।’ अहिले बुटवल–भैरहवा सडक ६ लेनको बनेको छ ।
प्रालिका सञ्चालक घिमिरेले नेपालमै पहिलो विद्युतीय सार्वजनिक बस यस क्षेत्रमा भित्राइएको थियाे
‘तत्कालका लागि हामीले दुई वटा बस ल्याएका छौँ,’ घिमिरेले भन्नु भयाे, ‘यी बस बुटवल–भैरहवा, लुम्बिनी र बुटवल, सालझण्डी र कपिलवस्तुको चार नम्बर रुटमा चल्नेछन् ।’