अयोध्याकाे राम मन्दिरमा स्थापना गरिने मूर्तिकाे शिला जनकपुर पुग्यो

भारतको अयोध्यामा निर्माणाधीन राम मन्दिरमा स्थापना गरिने मूर्ति बनाउन म्याग्दीको बेनीस्थित कालीगण्डकी नदीको किनारमा रहेको शिलालाई जनकपुरधाम पुर्‍याइएको छ।

आइतबार देवशिलालाई देवी सीताको जन्मस्थल जानकी मन्दिर परिसरमा लगेर पूजा गरिएको हो।

यसअघि नेपालको म्याग्दीको गलेश्वरधाम लगायतका धार्मिक स्थानहरुमा लगेर पूजा, अर्चना गरिएको थियो। देवशिलालाई जनकपुरमा पूजा गरिसकेपछि अयोध्या पुर्‍याउने गरी बिदाइ गरिने जानकी मन्दिरका पुरोहीतले बताए।

भारत पठाउनका लागि पाँच वटा शिला पहिचान गरिएकोमा दुई वटा शिला पठाउन लागिएको हो। भारत पठाउनु अघि परीक्षण गरिएका ती शिला ‘२६ टन र १४ टन’ तौलका छन्।

भारत पठाउन लागिएका शिलाहरुको पूजा, आराधनाका लागि यतिबेला जनकपुर धाममा भक्तजनहरुको भीड रहेको छ।

जनकपुरधामवासीहरु शिलाको पूजाका लागि उपस्थित भइ रमाइलो गरिरहेका छन्। नेपालबाट शिला भारत लग्न लागेकाले आफूहरु खुशी भएको जनकपुरधामवासीहरु बताउँछन्।

यसले नेपाल र भारतीचको सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउने उनीहरुको विश्वास छ। शिला बुधवारसम्म राम जन्मभूमिको ट्रस्टलाई जिम्मा लगाउने तयारी छ।

शिला कालीगण्डकीबाट पोखरा हुँदै विभिन्न धार्मिक स्थलमा पूजा गर्न राखिएको थियो।