मधेश प्रदेशलाई पराजित गर्दै कोसी फाइनलमा

ललितपुर मेयर वुमन्स च्याम्पियनसिप टी-२० क्रिकेट प्रतियोगितामा कोसी प्रदेश फाइनल प्रवेश गरेको छ। मंगलबार टियू मैदान कीर्तिपुरमा भएको दिनको दोस्रो खेलमा कोसीले मधेश प्रदेशलाई ६२ रनले पराजित गर्दै तेस्रो संस्करणमा पहिलो पटक फाइनलमा स्थान बनाएको हो।

अब उपाधिका लागि कोसीले बिहीबार विभागिय टिम एपिएफको सामना गर्ने छ। कोसीले ४ मध्ये तीन खेलमा जित निकाल्दै ६ अङ्कका साथ फाइनलमा स्थान बनाएको हो।

मंगलबार टियू मैदान कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको कोसीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १०५ रन बनाएको थियो। उसका लागि कप्तान रुविना क्षेत्रीले सर्वाधिक ३९ रन बनाउँदा अप्सरी बेगमले १९ रन बनाइन त्यस्तै ओपनर काजल श्रेष्ठले २२ रन बनाउँदा स्मृती कटुवालले १० रन बनाएकी थिइन।

जवाफमा १०६ रनको लक्ष्य पछ्याएको मधेश निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ४३ रन मात्र जोड्न सक्यो। उसका लागि सरस्वती कुमारीले  सर्वाधिक १० रन बनाउनु दोहोरो स्कोरका रुपमा रह्यो। अन्य कुनैपनि खेलाडीले दोहोरो स्कोर बनाउन सकेनन्। कोसीका लागि रुविना क्षेत्री, अलिसा खाडिया र निसा साहाले समान २-२ विकेट लिए।