नेपालले अमेरिकालाइ ६ विकेटले हरायाे

नेपाल विश्वकप छनोट क्रिकेटमा अमेरिकासँगकाे खेलमा ६ विकेटले विजयी भएको छ ।जिम्बा व्वेको हरारेमा जितका लागि पाएको २०८ रनको लक्ष्य नेपालले ४३ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । नेपाललाई जिताउन भीम सार्की र दीपेन्द्रसिंह ऐरीले नट आउट ७४ रनको साझेदारी गरेका थिए । सार्की ७७ र ऐरी ३९ रनमा नट आउट रहे ।ओपनर कुशल भुर्तेल ३१ र आसिफ शेख १२ रनमा आउट भए । कप्तान रोहित पौडेल १६ र कुशल मल्ल १३ रनमा पभेलियन फर्केका थिए ।

यसअघि टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको अमेरिकाले ४९ ओभरमा सबै विकेट गुमाएर २०७ रन बनायो । उसका सयन जंहागीर १०० रनमा अविजित रहे ।

अमेरिकाको सुरुवात निकै खराब थियो । पावर प्लेमा करण केसीले घातक बलिङ गरेपछि अमेरिकाले १९ रन जोड्दा महत्वपूर्ण चार विकेट गुमाइसकेको थियो ।

तर सुशान्त मदानी र गजानन्द सिंहले पारी सम्हाले । दुबैले पाँचौं विकेटका लागि ४७ रनको साझेदारी गरे । २२औं ओभरको तेस्रो बलमा दिपेन्द्र सिंह ऐरीले यो साझेदारी तोडे । २६ रन बनाएका गजानन्दलाई आरिफ शेखले स्लिपमा क्याच गरे ।

तर सातौं नम्बरमा ब्याटिङ गर्न आएका जंहागीरले क्रिजमा डटेर खेले । उनले छैटौं विकेट मदानीसँग २९ रनको साझेदारी गरे । ४२ रन बनाएका मदानीलाई ललित राजवंशीले क्लिन बोल्ड गरे । निसर्ग पटेलले ३४ रनको साझेदारी गरे, पटेललाई गुल्सन झाले विकेटकिपर आसिफ शेखको हातबाट क्याच आउट गराए ।

त्यसपछि आएका जेस्सी सिंहले जंहागीरसँग ४२ रनको साझेदारी गरे । जेस्सीलाई दिपेन्द्र सिंह ऐरीले कप्तान रोहित पौडेलको हातबाट क्याच आउट गराए ।

क्रिजमा टिकेर बाउण्ड्री समेत हानिरहेका जंहागीरले नवौं विकेटका लागि सौरभ नेत्रभालकरसँग ३७ रनको साझेदारी गरे । त्यसक्रममा उनले ४८.३ ओभरमा शतक पूरा गरे ।