सातौं स्थान लागि आज नेपाल र आयरल्याण्ड प्रतिस्पर्धा गर्दै

जिम्बाब्वेमा भइरहेको आईसीसी एक दिवसीय विश्वकप छनोटअन्तर्गत सातौं स्थानको प्लेअफको लागि नेपालले आज मंगलबार टेष्ट राष्ट्र आयरल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ । विश्वकप छनोटबाट बाहिरिसकेको नेपालका लागि आयरल्याण्डविरुद्धको खेल यो प्रतियोगितामा अन्तिम हुनेछ । नेपाल र आयरल्यान्डबीचको खेल हरारेस्थित टाकासिंगा स्पोर्टस् क्लबमा नेपाली समय अनुसार दिउँसो पौने १ बाट सुरु हुनेछ ।अर्कोतर्फ नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेटमा आयरल्याण्डसँग पहिलो पटक खेल्दैछ ।

टी-२० अन्तर्राष्ट्रियमा भने नेपालले आयरल्याण्डसँग ३ खेल खेलिसकेको छ र सबैमा पराजित भएको थियो ।यस्तै नेपालले जारी विश्वकप छनोटमा तेस्रो पटक टेष्ट मान्यता टोलीसँग खेल्दैछ । जुन नेपालको लागि अर्को महत्वपूर्ण अवसर समेत हो ।

नेपालले समूह चरणमा तीन खेल हार्दा अमेरिकालाई मात्र पराजित गरेको थियो । जिम्बाब्वेसँग पहिलो खेलमै ८ विकेटले पराजित भएको नेपालले अमेरिकालाई ६ विकेटले हराएर सुकर सिक्स आशा कायम राखेको थियो । तर वेष्ट इन्डिजसँग १०१ रन र नेदरल्याण्ड्ससँग ७ विकेटले हारेपछि नेपाल सुपर सिक्समा पुग्न सकेन ।समूह बी मा खराब प्रदर्शन गर्दै शीर्ष तीनमा अटाउन असफल  भएपछि आयरल्याण्डको पनि विश्वकप खेल्ने सपना समाप्त भयो र प्लेअफमा धकेलियो । जहाँ आयरल्याण्डले अमेरकालाई हराएर सातौं स्थानको प्लेअफका लागि स्थान बनाएको हो ।आयरल्याण्डले आफ्नो समूहमा यूएईलाई मात्र हराउन सकेको थियो भने ओमान, स्कटल्याण्ड र श्रीलंकासँग पराजित भएको थियो ।