तीन दलका शीर्ष नेताको बैठक सकियो,सदन खुलाउन सहमति

प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरुको बैठक सकिएको छ । शीर्ष नेताहरुको बैठकपछि बुधबारदेखि जारी प्रतिनिधिसभाको अवरोध आजदेखि हट्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पहलमा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बसेको बैठकमा सङ्घीय संसद्को अवरोध खुलाउन सहमति भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

गत बुधबारदेखि प्रमुख प्रतिपक्षी नेकपा (एमाले) लगायतका दलले सङ्घीय संसद्का दुवै सदनको बैठक अवरोध गर्दै आएका छन् । सदनको अवरोध खुलाउने विषयमा प्रधानमन्त्रीले प्रमुख दलका शीर्ष नेतासँग संवाद गर्न आज बिहान सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरुले आग्रह गर्नुभएको थियो ।

सिंहदरबारमा बसेको बैठकमा प्रधानमन्त्री प्रचण्ड, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा हुनुहुन्थ्यो । यसअघि प्रधानमन्त्री प्रचण्डको आग्रहमा सभामुख देवराज घिमिरेले आज दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक अपराह्न ३ बजेका लागि सार्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *