प्रधानमन्त्रीको राजीनामाको अडानमा अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को कारण संसद् बन्द भएको आरोप लगाएका छन्।आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले एमालेका कारण नभइ प्रधानमन्त्रीका कारण संसद् बन्द भएको बताएका हुन्।

ओलीले संसद् सञ्चालन गर्न आफूहरु सकारात्मक भए पनि एमालेमाथि लगाइएको गम्भीर आरोपहरु फिर्ता नभएकाले सहमति नभएको बताए। ओलीले प्रधानमन्त्रीको राजीनामा आए मात्रै सहमति जुट्ने बताए। सदनको गतिरोध अन्त्य गर्न भन्दै प्रमुख तीन दलका शीर्ष नेताले छलफल गरेका छन्।

प्रधानमन्त्री एवं माओवादी अध्यक्ष दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दलका अध्यक्ष ओलीबीच छलफल भएको थियो। उक्त छलफलमा सहमति नजुटेपछि ओलीले प्रचण्डको राजीनामा मागेका हुन्। सदनमा एमाले र अर्को प्रतिपक्ष दल राप्रपाले प्रधानमन्त्रीको राजीनामा माग्दै विरोध गरेकै कारण गत बुधबारदेखि संसद् बैठक चल्न सकेको छैन।