मनाङ एयरको एक हेलिकोप्टर सोलुखुम्बुमा दुर्घटनामा परेको छ । ९एन–एएमभी कलसाइन रहेको हेलिकोप्टर सोलुखुम्बुको सुर्केबाट स्थानीय समयअनुसार बिहान १०ः५मा पाँच जना यात्रु लिएर काठमाडौंका लागि उडेको यिो ।
उडेको केहीबेरमै सम्पर्कविहीन भएको थियो । उडेको ८ मिनेटमै सम्पर्कविहीन भएको हेलिकोप्टर पिके पिक क्षेत्रमा दुर्घटनामा परेको थियो । १० बजेर १३ मिनेट जाँदा लुक्लास्थित टावरमा अन्तिमपटक सम्पर्क भएको र त्यसपछि उक्त हेलिकोप्टर सम्पर्कमा आउन नसकेको नेपाल नागरिक उड्ययन प्राधिकरणले जनाएको छ ।
पाइलटसहित ६ जना सवार हेलिकोप्टरमा पाँच जना मेक्सिकोका नागरिक रहेको बताइएको छ । कोसी प्रदेश प्रहरी प्रमुख डीआईजी राजेशनाथ बास्तोलाले हेलिकोप्टर दुर्घटनामा परेको जानकारी दिँदै पाँच जनाको शव फेला परेको बताए । प्रहरीका अनुसार रूखमा ठोक्किएर दुर्घटनामा परेको अनुमान छ ।
हिजो माउन्टेन फ्लाइटमा गएको हेलिकोप्टर लुक्लामा बसेर त्यहाँबाट फर्किँदै गरेको थियो । बिहानैदेखि सो क्षेत्रमा मौसम खराबीका कारण लुक्लाबाट उडेको सुर्के ल्यान्ड गरेको थियो । सुर्केपछि थोप्तेन छोलिङ क्षेत्रमा पनि ल्यान्ड गरेको पाइएको छ ।
त्यसपछि उडेको हेलिकोप्टर लामजुरा पास क्षेत्रमा आएपछि सम्पर्कविहीन भएको बताइएको छ । उद्धारका लागि गएका अल्टिच्युड एयरका दुई हेलिकोप्टर दुर्घटनाग्रस्त क्षेत्रमा ल्यान्ड गर्न सकेनन् । सो एयरले दिएको जानकारीअनुसार दुर्घटनाग्रस्त क्षेत्रमा खराब मौसमका कारण अवतरण हुन नसकेको हो ।