नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटी सदस्य डम्बरराज सुवेदीको आज निधन भएको छ । उहाँले बाँके जिल्लाका विभिन्न विकट र असुविधा भएका विद्यालयमा शिक्षण पेशा गर्नु भएको थियोे । यसका साथै शैक्षिक क्षेत्रमा नेकपा (एमाले)काे संगठन विस्तार गर्ने अग्रणी भुमिका निर्वाह गर्नु भएको थियो ।
उहाँले बाँके जिल्लामा शिक्षकका हक अधिकार र संगठन गर्नेमा महत्त्वपूर्ण भुमिका निर्वाह गर्नु भएको थियोे । शिक्षक सहकारी र नेपाल राष्ट्रिय शिक्षक संगठन बाँकेकाे जिल्ला अध्यक्षमा रहेर काम गर्नु भएको थियोे ।
पार्टीका विभिन्न कमिटी हुँदै जिल्ला कमिटी, अञ्चल कमिटी र हाल लुम्बिनी प्रदेश कमिटीका सदस्यकाे जिम्मेवारीमा हुनुहुन्थ्यो । उहाँका तीन छाेरा एक छाेरी हुनु हुन्छ ।
उहाँका जेठ छाेरा पत्रकारिता क्षेत्रमा कार्यरत हुनुहुन्छ । पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्ष तथा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य रुद्र सुवेदी हुनुहुन्छ, माइला छाेरा बामदेव सुवेदी नेपाल राष्ट्रिय शिक्षक संगठनका पूर्व जिल्ला अध्यक्ष र हाल केन्द्रीय सदस्य र धम्बाेझी उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक हुनु हुन्छ भने कान्छा छाेरा र छाेरी पनि शिक्षण पेशामा कार्यरत हुनु हुन्छ । सुवेदी परिवारलाई पृती शोक परेको छ ।
नेताकाे ८० वर्षको उमेरमा उपचारका क्रममा नेपालगञ्ज मेडिकल कलेजमा निधन भएको हो ।
पारिवारीक श्रोतका अनुसार अन्तिम दाहसंस्कार गर्नाका निम्ति भोलि शनिबार ८ बजे अगैया घाटमा प्रस्थान हुने जानकारी प्राप्त भएको छ। यस भन्दा पहिले नेकपा (एमाले) बाँके जिल्ला पार्टी कार्यालय पासाङ्ग ल्हामु मार्ग नेपालगन्जमा विहान ७ बजे श्रद्धाञ्जली गरिने एमाले बाँकेका अध्यक्ष किस्मत कुमार कक्षपतिले जानकारी दिनु भयो ।