राजनीतिमा विकृतीः अस्थिर र अवसरवादी चरित्र हाे

डिल्ली बि.सी.

हरेक व्यक्ति, संस्था, समाज तथा संगठनको एउटा परिकल्पना हुन्छ । त्यो परिकल्पना सकारात्मक अथवा नकारात्मक होला, तर निश्चित परिकल्पनाका आधारमा गन्तव्य तय हुन्छ । त्यसैगरी त्यो परिकल्पना पुरा गर्ने एउटा इख वा इबीका साथ व्यक्ति वा संस्था लागि परेको हुन्छ । नेपाली जनमा उक्ति छ “विष नभएको सर्प र ईख नभएको मानिस काम लाग्दैन ।” ठिक यस्तै होला क्यारे । राजनीति पनि निश्चित विचारधारामा निहित कार्यक्रमका आधारमा स्वस्पूर्त नागरिकको जीवनस्तरमा आमूल परिवर्तनका लागि हुनु पर्ने हो । राजनीतिक व्यक्ति पनि समाज, व्यवस्था र प्रणाली भित्रका गलत, पश्चगामी र मानव अहितकारी सबै नीति, विधि, प्रक्रिया परिवर्तनका लागि आफ्नो ईख बनाएर संगठित हुनु पर्ने हो ।

यहाँ कुनै शब्दको अर्थ वा शब्द जान्नु पर्ने अनिवार्यताको चर्चा गर्न खोजेको हैन । राजनीति वा राजनीतिसँग सम्बन्धित विषयमा नेपाली मानक भाषामा के भनेर बुझिन्छ । यसको अर्थ के रहेछ । राजनीति, शब्दकोष अनुसार हुन्छ भन्ने हैन । तर, न्यूनतम कुराको संगती कति आसपासमा रहेछ भन्नका लागि नेपाली भाषामा राजनीतिक शब्दको अर्थका विषयमा प्रज्ञा नेपाली बृहत् शब्दकोषमा “राजनीति” भनेको “जनताको शान्ति सुरक्षा कायम गर्ने, मौलिक अधिकारको कदर गर्ने, राज्यको शासन व्यवस्थाको प्रणाली निर्धारण गर्ने, राष्ट्रिय र अन्तरराष्ट्रिय नीतिको उपयुक्त सन्तुलन गर्ने र यस्तै अन्य कार्य गर्ने नीति” भनि अथ्र्याइए छ । यो कार्यको कार्यभार पुरा गर्न शब्दले मात्रै हुदैन । यसका लागि फेरी व्यक्तिकै खाँचो पर्दछ । त्यो व्यक्ति वा राजनीतिक कार्य गर्नेलाई राजनीतिज्ञ भन्नु स्वभाविक हो । त्यसैले शब्दकोषले नै “राजनीतिज्ञ” भनेको “राजनीतिका सम्पूर्ण मर्म जान्ने, राजनीतिको ज्ञाता, राजनीति बुझेको ।” भनेको छ । तर त्यो राजनीतिज्ञ कुनै समूह, संगठन वा दलमा आबद्ध पनि हुन्छ । दलमा आबद्ध नभएर पनि राजनीतिमा जोडिने पनि हुन्छ । जसले राजनीतिक कर्म गरेको पनि हुन्छ । चाहे दलमा आबद्ध होस वा नहोस त्यो राजनीति गर्ने व्यक्तिमा पर्दछ । यसै शब्दकोषमा राजनीतिक दलका बारेमा परिभाषित पनि गरिएको छ । “राजनीतिक दल”का बारेमा “राजनीतिक उद्देश्यको परिपूर्तिका निम्ति तयार गरिएको पार्टी वा संगठन, राजनीतिक संघ ।” भनिएको छ ।
कुनै विदेशी विद्धान वा विश्लेषकका कुरा, भनाई वा भाषण हैन नेपाली सरल अर्थमा भन्दा व्यक्ति, समाज वा देशको तत्कालिन यथास्थितीको अवस्थालाई समग्र परिवर्तनका लागि होस अथवा नागरिक सर्वोवरी हितका लागि रानजनीति चाहिन्छ । त्यो राजनीति गर्ने राजनीतिज्ञको कार्य हो । राजनीतिज्ञ कुनै दलसँग आवद्ध भएर पनि काम गरेको हुन्छ । यसर्थ यी सबै एक अर्काका परिपूरण र सहअस्थित्वका कार्यहरु हुन । के नेपालमा यस्तै भएको छ ? के राजनीतिको उद्देश्य पुरा गर्न राजनीतिज्ञ अब्बल सावित भएका छन ? राजनीतिज्ञ अब्बल नहुनुमा राजनीतिक दलको गलत विश्लेषण, गन्तव्यहिन ध्येय छ ? के दललाई वा राजनीतिज्ञलाई नेपाली नागरिकले असहयोग गरेका छन् ? कि राजनीतिक दलका नीति, कार्यक्रम र व्यहारमा तारतम्य मिलेको छैन ? अथवा राजनीतिज्ञ वा दलसँग नागरिकको सम्वन्ध टाढीदै गएको छ ? यहाँ यस्तै विषयमा चर्चा गर्ने प्रयास गरेको छु ।

अपरिपक्व राजकाजः शासन कानुनका आधारमा निहित छ । २०६३ सालदेखि लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको मुल कानुनका आधारमा सबै राज्य संयन्त्र संचालनमा रहेका छन् । २०४७ देखि २०६३ सम्म कानुनमा बाधक रहेको बंशीय शासन पनि अन्त्य भएको छ । २०६३ भन्दा पहिला जनहित विपरित, बंशीय पक्षधरताको गुणगान र बखानमा केन्द्र्र्र्र्र्र्र्र्र्र्र्रित थियो । र, त्यसको अन्त्य अनिवार्य थियो । देशको उच्चतम स्थानमा रहेका सांसदहरुको शैली हेर्दा दशैको बलि खरिद विक्रि जस्तै थियो । १०३ को अंकगणितका लागि हदैसम्मका हर्कत भए । २०५१ मा कांग्रेसको पूर्ण बहुमतको सरकार कांग्रेसकै सांसदहरुको असहयोगले अल्पमतमा पर्यो । प्रतिनिधिसभा विघटन भयो । मध्यावधि चुनाव भयो । २०५१ मै नेकपा (एमाले)को अल्पमतको सरकार बन्यो । त्यो सरकार नौ महिनामै अंकगणित नपुगेर ढल्यो ।
२०५२ भदौ २६ मा राष्ट्रिय प्रजातन्त्र पार्टी र साना पार्टीहरुको सहयोगमा शेरबहादुर देउवा पहिलो पटक प्रधानमन्त्री हुनु भयो । उक्त सरकारसँगै संसदीय अङ्कगणित कायम राख्ने क्रममा अनेक किसिमका विकृतिहरु भित्रिए । तीन वर्षमा चार सरकार गठन भए । संसदीय गणित व्यवस्थापनका लागि विकृतिहरु भित्र्याइए । पार्टीहरु फुटे । प्रजातन्त्र बदनाम हुन थाल्यो ।

यस भन्दा पहिलानै संसदीय व्यवस्थामा गलत अभ्यास सुरु हुनु थालेको थियो । राष्ट्रिय सभा चुनाव २०५० मा एमालेमा सीपी मैनाली समूहले ह्वीप उल्लंघन गरेर विद्रोही–स्वतन्त्र उम्मेदवार जगतबहादुर बोगटीलाई मतदान गरी विजयी बनाउनु भयो । २०५३ मा सद्भावना पार्टीका सांसदद्वय हृदयेश त्रिपाठी र अनिश अन्सारीले ह्वीप उलंघन गर्नु भयो । २०५३ मा शेरबहादुर देउवाले विश्वासको मत लिँदै गर्दा ह्वीप उल्लंघन गरेर सांसदद्वय चक्रबहादुर शाही र दीपकजंग शाह अनुपस्थित हुुनु भयो ।

नेपाली कांग्रेस, नेकपा (एमाले) र राप्रपामा गुटगत राजनीति झाँगिदै गयो । “चमाले” सरकार (लोकन्द्रबहादुर चन्दको नेतृत्वमा एमाले) गठन भयो । यो सरकारमा पनि १०३ को अंकगणित पु¥याउन असंसदीय घिनौना कार्य भए । केही सांसदलाई खरिद गरी भारत भ्रमण लगियो । राप्रपाका सुर्यबहादुर थापा पक्षधर मन्त्रीहरू बुद्धिमान तामाङ, बालाराम घर्तीमगर, महेन्द्र राय, शान्ति शमशेर राणा र विष्णु विक्रम थापालाई एकैसाथ ‘उपचारको वहाना’मा बैंकक लगियो । उक्त बैंकक यात्राको सुरा‐सुन्दरी प्रसंग अझै राजनीतिमा तरंगित छ । यसका लागि कुन दल वा व्यक्ति कति जिम्मेवारी छन यो गहन अध्ययनको विषय हो । तर, अंशमा सानो ठूलो होला कोही दल अछुतो रहेनन् । समाजवाद र विपीको आदर्श फलाक्ने काँग्रेस, साम्यवादी राज्यको परिकल्पना गर्ने कम्युनिष्ट र सनातन बेद, गीतालाइ आदर्श मान्छु भन्ने राप्रपाको राजनीतिक दस्तावेजसँग यी घटना कतै मेल खान्छन ? कदापी राजनीति दर्शन र पार्टीका आधिकारिक दस्तावेजसँग मेल खादैनन् । यी सबै कार्य शैली भद्दा तथा गैर राजनीतिक सिद्धान्त र राजनीतिज्ञको चरित्र भन्दा बाहिरका कार्य थिए । यस बीच यी र यस्तै अराजनीतिक कृयाकलाप थुप्रै भए । अर्कोतर्फ बंशीय परम्पराका नाईके ज्ञानेन्द्र शाहले प्रत्येक्ष राजनीतिमा हात हाले । २०५८ सालमा उनले व्यवस्थालाई नै अंकुश लगाए । शाही “कु” लगाए । सोही शाही “कु” को प्रतिवाद गदै २०६३ सालमा नागरिकले उनको बंशीय शासननै अन्त्य गरिदिए ।
राजनीतिलाई आफु अनुसारको व्याख्या गर्दा पार्टीहरुमा फुटको पछिल्लो गैरराजनीतिक चरित्र चार नेताहरू शेरबहादुर देउवा, पुष्पकमल दाहाल, माधवकुमार नेपाल र उपेन्द्र यादवले देखाउनु भयो । २०७७ वैशाख ८ मा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको राजनीतिक दलसम्बन्धी कानुनमा दल त्याग प्रावधान संशोधन अध्यादेश विवादित बनाइयो । ति चार नेताहरुले केपी शर्मा ओलीलाई लोकतन्त्र विरोधी भनेर खुबै विरोध गरे । चार मध्येका एक शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि सोही अध्यादेशमा “र” लाई “वा” ले प्रतिस्थापित गरी संसदीय दल वा पार्टी मध्ये कुनै एकमा २० प्रतिशत सांसदले चाहेमा पाटी फोड्न सक्ने प्रवधान राखि अध्यादेश पास गरियो । पार्टी भित्रका गुटले आँट गर्दा दल फुट्ने निश्चित बनाएर माधव नेपाल नेतृत्वको पार्टीको जन्म भयो । आफुले गर्दा ठिक अरुले गर्दा बेठिक । यो दुई चरित्र नेपाली राजनीतिलाइ कमजोर बनाउने मुख्य कडी भएको छ ।

नेपालको राजनीतिमा अस्थिर र अवसरवादी यो चरित्र ठूलो विकृती हो । यसलाई रोक्ने काम दलहरुको हो । रोकिने पनि दलहरुनै हुन । राजनीतिमा यस्ता गैर राजनीतिक उदाहरण सयौं छन् । यी केही प्रतिनिधि घटना मात्रै हुन । राजकाजमा यसलाई घटना मान्न सकिदैन, यो प्रवृति हो । यो विषयवस वा घटनामा आधारित हैन । यो त नियतवस र नेतृत्वको गिद्दे मानसिकताको उपज हो । झट्ट आफु र आफ्ना मान्छेका लागि फाइदा भएपनि यसले कालान्तरमा व्यक्ति, दल र मुलुकको हित गर्दैन । यो अपरिपक्क राजकाजकर्ताको परिणाम हो ।

नेतृत्व सिकन्दर बन्दाका समस्याः २०५२ माघ २२ गते तत्कालिन नेकपा संयुक्त जनमोर्चा नेपालको तर्फबाट संयोजक बाबुराम भट्टराईले तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवालाई ४० बुँदे ज्ञापनपत्र पेश गरे । यी माग पुरा गर्नका लागि भन्दा पनि केवल मागका लागि माग थिए । त्यो राजनीतिक चर्तुर्याइ थियो । सोही बर्षको फागुन १ गते संयुक्त जनमोर्चा नेपाल हाल नेकपा(माओवादी केन्द्र)ले सशस्त्र युद्ध सुरु गर्यो । युद्ध के भयो ? कसरी भयो ? यसका राम्रा नराम्रा धेरै पक्ष छन् । सरकारका तर्फबाट भ्रम फैलाउन तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी नेताहरुको टाउकाको मूल्य तोक्नुभयो । टाउकाको मुल्य स्तर अनुसार २५ लाखदेखि ५० लाखसम्म तोक्ने निर्णय २०५९ साल बैशाख १० गते बसेको मन्त्रिपरिषदको बैठक गरेको थियो ।

तत्कालीन गृहराज्यमन्त्री देवेन्द्रराज कँडेलले रिपोर्टर्स क्लबमा आयोजित एक कार्यक्रममा ‘झोलामा टाउको ल्याउनोस्, पैसा लैजानोस’ भनेर खुलेआम घोषणा गर्नु भयो । सरकार र युद्धरत पक्षले कसले कति आतंक मच्चाए ? कसले कति गैर मानवीय कार्य गरे ? अब त्यसको लेखाजोखा हुने कुनै संभावना छैन । व्यक्तिले भोगेका समस्याको दस्तावेज गर्ने संभावना त झनै छैन् ।

हाल टाउकाको मुल्य तोक्ने र तोकिमाग्नेले देशको नेतृत्व गरिरहनु भएको छ । आज नागरिकले अघोषित संकटको बेदना खेपीरहनु परेको छ । देश असफल राष्ट्रतिर जाँदै छ । समाजमा भाइचारा, अ‍ैचोपैचौ र अपनत्व समाप्त भएको छ । दौरासुरुवाल लगाउने भरी समान्त भए । सुराकीको नाममा सफाए भए । सुरुमा रोल्पा, रुकुम, सल्यान र गोरखा जस्ता जिल्लाका नागरिक भएकै कारण अमानवीय व्यवहार र यातना व्यहोर्नु पर्यो । यो अवस्था सिर्जना गर्ने मुख्यकर्ता वर्तमान प्रधानमन्त्री पुष्पकमल दहाल र पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा नै हुन ।
बिगतमा उनीहरु ले गरेको गैरराजनीतिक निर्णयका कारण नेपाली राजनीति मात्र होईन समाजलाई समेत ध्वस्त पारेको छ । आज एकै घरका भाइजस्ता भएर अंश बण्डा गरिरेहका छन् । युद्धमा मारिएका १७ हजार नागरिकको आत्म र उनीहरुसँग जोडिएका लाखौं आत्मले यी दुई चरित्रको राजनीति गर्नेको कुभलो चाहि रहेका छन् ।

यी दुई चरित्रेकोे सत्ता मोह जनताको माग हो ? जति सुकै सिकन्दर भनेपनि भारतवर्षको युद्ध अभियानबाट युरोप(एथेन्स) फिर्ता हुन नपाएरै द अलेक्जेण्डर ग्रेट (सिकन्दर)को विश्व सम्राट बन्ने महत्वकांक्षी योजना समाप्त भए जस्तै पार्टी र सरकारमा सिकन्दर बन्ने(माओवादी केन्द्र र काँग्रेस) नेतृत्वकर्ताको समाप्ती निश्चित छ ।

देशलाई बन्धकी राखेर पद प्राप्तिः पद प्राप्तिका लागि रगतको खोलो बग्यो नेपालीले माफ गरे । नाराणहिटी र सिंहदबार हाम्रो हुने छ, सबै मानिस समान हुनेछन्, सबै शक्तिको मालिक हामी हुनेछौं भन्दै गरिब, सोझा र इमान्दार नागरिकलाई झुटो आश्वासन बाँडेर माओवादी सुप्रिमो शासन सत्तामा पुगे । हाम्रो भन्नेलाई ‘मेरो’ बनाए । आज माओवादी केन्द्रका सुप्रिमोले राजनीतिमा जुन प्रकारको गैरराजनीतिक चरित्र देखाउनु भएको छ त्यो उहाँकै पार्टी, समाज र देशको हितकर छैन् । २०७६ माघ १ गते काठमाडौको खुल्ला सैनिक मञ्चबाट उहाँले “…मलाई भन्ने गरिन्छ, १७ हजार मान्छे मारेर आएको भन्ने तथ्याङ्क भन्ने गरिन्छ । साथीहरु र आदरणीय जनसमुदाय यो सत्य हैन । यो सत्य हैन । सत्य के हो । (बिचमा कोलाहाल भएपछि) भन्न दिनोस् । के हो भने हिजोका सामान्ति राजाहरुले १२ हजार मारेका हुन । मलाई ५ हजारको जिम्मा दिनु हुन्छ भने दिनुस्…।” भन्नु भयो । उहाँले स्वीकारेको पाँच हजार नागरिकको बलिदानीको प्रतिफल केवल प्रधामन्त्री बन्नु मात्रै हो ?
यसपटक प्रधानमन्त्री बनाउने अहम भुमिका त भारतिय नागरिकको पो रहेछ । उहाँले नै प्रधानमन्त्री पद दिनु भएको रहेछ । २०८० असार १८ गते खुल्ला कार्यक्रममा ठुलो खुलासा गर्नु भयो । आफु प्रधानमन्त्री संसदबाट चुनीएको भन्दा पनि तिनै भारतिय नागरिकबाट बनेको तथ्य सार्वजनिक गर्नु भयो । “…मेहनत गर्नु भयो । धेरै चोटी दिल्ली जानु पनि भयो । काठमाडौका ठूला पार्टीहरुलाई, नेताहरुलाई लगातार छलफल गर्नु भयो । सरदार प्रितम सिंहलाई हार्दिक बधाई भन्न चहान्छु…।” प्रधानमन्त्री पुष्पकमल दहालको भनाइ हो । एउटा स्वतन्त्र र सार्वभौम देशको कार्यकारी प्रमुखले यस्तो राष्ट्रघात, निच, गैरजिम्मेवार, स्तरहिन र दलाली खुल्ला सभामा गर्छ भने त्यो एक मिनेट पनि पदमा बस्न नीति, नैतिकता र मानव प्राणीका हिसावले हितकर छैन । संसदबाट निर्वाचित प्रधानमन्त्रीको यस्तो सोच र शैली आजसम्म विश्व राजनीतिमा विरलै होलान् । प्रधानमन्त्रीले बिदेशी नागरिकले आफुलाई प्रधानमन्त्री बनाउन निर्वाह गरेको भूमिकाको मुक्तकण्ठले प्रसंसा गर्नु राजनीतिक बच्पना हो । यसका आधारमा उहाँको मानसिक परीक्षणको खाँचो छ ? प्रधानमन्त्री कसैको बुवा, श्रीमान वा यस्तै नाता पर्ने व्यक्ति चयन हुने हो तर प्रधानमन्त्री भएपछि त्यो देश हो । त्यो देशका भुगोलमा बस्नेको अभिभावक हो । त्यो देशका नागरिकको छानो, मानो र भाग्य भविष्यकर्ता हो । खै यी व्यक्तिको विवेकशून्यताको बेला मञ्चमा बोलाइएको रहेछ कि क्या हो । यसरी सार्वभौम देशलार्य बन्दगी राख्ने ब्यक्ति कसरी प्रधानमन्त्री हुन सक्छ ? के यो दलका अन्य सदस्य छैनन् ? उनीहरुलाई प्र्रश्न गर्ने ठाउँ छैन ? पदका लागि जे पनि गर्ने, बोल्नेले देशको आमुल रुपान्तरणका लागि गोपनीयताको सपथ खाएनन् । के उनलाई देश र जनता बन्धकी राखेर प्रधानमन्त्री बनाई रहनु पर्ने नेपालीको बाध्यता हो ।

राजनीति, राजनीतिज्ञ र राजनीतिक दल भनेको सामाजिक सञ्चालमा नाचे जस्तो, अभिनय गरे जस्तो, केही सेकेन्डमा व्यापक(भाइरल) भएजस्तो हैन । यो निश्चित देशको भुगोलभित्र राष्ट्रिय तथा अन्तरराष्ट्रिय मुल्य, मान्यता, विधि, अनुशासन र परिधिमा रहेर ‘म’ भन्ने भन्दा ‘हाम्रो’ र ‘हामी’हरुका लागि पवित्र कार्य हो । यसो नभएर अयोग्य व्यक्ति र पार्टीका कारण आज नेपाल र नेपालीले मात्रै हैन यो भुगोल र यस भित्रका नागरिकको भलो चहाने, सकारात्मक सोच्नेका लागि समेत बेइज्जत भएको छ । भावनाले राजनीति, राजनीतिज्ञ र राजनीतिक दल बन्दैन । यो त्यो देश र जनताको आवश्यकता, इच्छा, चहान र मुल्यमान्यताका आधारमा हुने र गर्ने विधिसंगत कार्य हो । एक पटकको गल्ती र कमजोरीले युगयुगसम्म क्षति व्यहोर्नु पर्दछ । यी तीन शब्दको छेउ न टुप्पो नबुझेका अक्षम व्यक्ति तत्काल राजनीतिक क्षेत्रबाट बहिर्गमन हुनै पर्छ ।

डिल्ली बि.सी.

Leave a Reply

Your email address will not be published. Required fields are marked *