श्रीलंकामा जारी एसिसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले भारतको ‘ए’ टिमलाई १६८ रनको लक्ष्य दिएको छ।
कोलम्बोमा प्रेमदसा रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ३९.२ ओभरमा १६७ रनमा अलआउट भयो।
खराब सुरुवात गरे पनि कप्तान रोहितकुमार पौडेलले अर्धशतक प्रहार गरे। रोहितले निशान्त सिन्धुको बलमा क्याचआउट हुनुअघि ६५ रन जोडे। उनले ८५ बलमा ७ चौका हिर्काए।
१० ओभरमा ३७ रन जोड्दा ५ विकेट गुमाएको नेपालका लागि रोहितले सोमपाल कामीसँग छैटौं विकेटका लागि ५३ रन र गुल्सन झासँग ५४ रनको साझेदारी गरेका थिए।
सोमपाल १४ रनमा आउट भएका थिए। गुल्सनले महत्वपूर्ण योगदान दिने क्रममा ३० बलमा समान २-२ चौका र छक्का प्रहार गर्दै ३८ रन जोडे।
ओपनर कुशल भुर्तेल शून्यमा आउट भए। उनलाई दोस्रो बलमा भारतका हर्षित रानाले एलबिडब्लूको धरापमा पारे। यस्तै अर्का ओपनर आसिफ ७ रनमा राजवर्धनबाट विकेट पछाडि समातिए।
देव खनाल १५ रन बनाएर खेलिरहदा राजवर्धनकै बलमा रियान परागबाट समातिए। भीम सार्की हर्षित रानाबाट ८.५ ओभरमा ४ रनमा बोल्ड भए। कुशल मल्ल शून्यमा राजवर्धनको बलमा अभिषेक शर्माबाट समातिए। पवन सर्राफले ६ रन जोड्न सके।