नापतौलमा ठग्ने ११ हजार व्यापारीमाथि कारबाही

गुणस्तर तथा नापतौल कार्यालय काठमाडौँले अनियमित नापतौल तथा नाप्ने तौलने यन्त्र प्रयोग गरी ठगी गर्ने ११ हजार ४९१ जना व्यापारीलाई कारबाही गरेको छ।कार्यालयले आर्थिक वर्ष ०७९/८० मा अनियमित रूपमा नाप्ने/तौलने यन्त्र प्रयोग गरी उपभोक्तालाई ठगेको आरोपमा उनीहरुलाई कारबाही गरेको हो। कार्यालयले समयमा अनुमतिपत्र नलिएका, समयमा जाँच नगराएका, समयभित्र नामसारी नगराएका, नापतौलमा घटिबढी गरेका व्यापारीलाई कारबाही गरेको हो।

पछिल्लो समय नापतौल यन्त्रमार्फत् उपभोक्ता ठगी गर्ने क्रम बढेकाले कार्यालयले विशेष निगरानी बढाएको कार्यालय प्रमुख राकेशकुमार झाले जानकारी दिए। ‘अनुगमनका क्रममा कतिपय व्यापारीले यन्त्रको दर्ता नगराएको र दर्ता गरेका व्यापारीले पनि नवीकरण नगरेको भेटिएको छ,’ उनले भने। कार्यालयले आव ०७९/८० मा ३ हजार ४४० व्यापारीलाई नापतौल तथा नाप्ने/तौलने यन्त्र प्रयोग गर्न अनुमति प्रदान गर्नुका साथै इजाजतपत्र नवीकरणसमेत गरेको छ। प्रमुख झाका अनुसार सीमित स्रोतसाधनबीच पनि कार्यालयले नापतौलसम्बन्धी ७७ पटक एकल र ६३ पटक संयुक्त रुपमा बजार अनुगमन गरेको थियो।

आव ०७९/८० मा ८ हजार ८५८ व्यापारीले नापतौल तथा नाप्ने/तौलने यन्त्र जाँच तथा नवीकरण गरेका छन्। सोही अवधिमा ६ हजार ८३७ ट्याक्सीको मिटर जाँच गरेको छ। कार्यालयले आव ०७८/७९ मा अनियमित नापतौल तथा नाप्नेतौलने यन्त्र प्रयोग गरी ठगी गर्ने ८ हजार ८५१ व्यापारीलाई कारबाही गरेको थियो भने १ हजार ५०९ व्यापारीलाई नापतौल तथा नाप्ने/तौलने यन्त्र प्रयोग गर्न अनुमति प्रदान गर्नुका साथै इजाजतपत्र नवीकरण गरेको थियो।

आव ०७८/७९ मा ६ हजार ६२६ ट्यक्सीको मिटर जाँच गरेको कार्यालयका सूचना अधिकारी नीराजन पुडासैनीले जानकारी दिए। कार्यालयले १ करोड ८५ लाख ५४ हजार राजस्व सङ्कलन गरेको थियो।‘जानीजानी सेवाग्राहीलाई ठगी गर्ने क्रम बढेकाले कारबाहीलाई प्राथमिकता दिएका छौँ,’ उनले भने‚ ‘नियतवश आम उपभोक्तालाई ठगी गर्ने जोकोहीलाई पनि कारबाहीको दायरामा ल्याउँछौँ।’

कार्यालयले आव ०७९/८० मा २ करोड ९ लाख राजस्व सङ्कलन गरेको छ। कार्यालयले काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, धादिङ, नुवाकोट र रसुवामा नापतौलको अनुगमन तथा गल्ती गर्नेलाई कारबाही गर्दै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *