श्रीमानद्वारा श्रीमतीको हत्या

श्रीमानले श्रीमतीको घाँटी काटेर हत्या गरेका छन् । सिमौनगढ नगरपालिका–६ बजार टोलस्थित ससुराली बस्दै आएको राज चुडिहारले बुधबार बिहान ३ बजेको समयमा सुतिरहेकी २७ वर्षीया श्रीमती आसमी चुडिहारलाई धारिलो हतियारले घाँटीमा पटकपटक प्रहार गरी हत्या गरेका हुन् ।

स्थानीय जाहिर चुडीहारका ज्वाइ भारत बिहार राज्यको पूर्वी चम्पारण जिल्लाको पोखरिया निवासी ३६ वर्षीय राज चुडिहार विगत एक महिनादेखि ससुराली सिमौनगढमा बस्दै आएका थिए ।

राज चुडिहार श्रीमतीको हत्या गरी भाग्न खोज्दा स्थानीयहरुले नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय सिम्रौनगढमा बुझाएको मृतकका बुबा जहिर चुडिहारले जानकारी दिनुभयो ।

श्रीमान र श्रीमतीबीच विगत एक महिनादेखि आपसी विवाद हुँदै आएको स्थानीयहरुले बताएका छन् । श्रीमतीको हत्या गर्ने राज चुडिहारलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान सुरु भएको प्रहरी निरीक्षक जितेन्द्रकुमार साहले जानकारी दिनुभयो । मृतकका दुई छोरा र एक छोरी छन् ।

चालू आर्थिक वर्षको ११ महिनामा १८८८ उजुरी परेकोमा ८६३ वटा घरेलु हिंसाको मुद्दा रहेको महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र कलैयाले जनाएको छ । यस्तै कर्तव्य ज्यान १० र ज्यान मार्ने उद्योग ३९ वटा दर्ता भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *