तनहुँमा डेंगुका बिरामी बढ्न थालेका छन् । पछिल्लो एक साताको अवधिमा जिल्लामा सरकारी अस्पताल तथा स्वास्थ्य केन्द्रमा डेंगुका ७ बिरामी पहिचान भएका हुन् । एक महिना अघि एकजनाको मृत्यु समेत भएको छ ।
बिरामी जाँच गराउन आएका मध्ये दमौली अस्पतालमा आठ जनाको परिक्षण गर्दा दुई, भिमाद प्राथमिक स्वास्थ्य केन्द्रमा २५ को परिक्षण गरेको तीन, बन्दीपुर अस्पतालमा ११ को परिक्षण गरेकोमा दुई गरी सात जनामा डेंगुको संक्रमण पुष्टि भएकोे स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिनुभयो ।
४४ जनाको परिक्षण गर्दा सात जनामा सङ्क्रमण भएको पाईएको उहाँले जानकारी दिनुभयो । डेंगुको सङ्क्रमणबाट तनहुँको व्यास नगरपालिकामा कार्यरत इन्जिनियर कमलप्रसाद शर्माको निधन भएका थियो ।
व्यास नगरपालिका–१० निवासी शर्माको असार १६ गते मृत्यु भएको थियो । केही दिनदेखि डेंगु सङ्क्रमण भएपछि दमौलीमा उपचाररत ३५ वर्षीया शर्मालाई थप उपचारका लागि पोखरा लैजादैं गर्दा बाटोमा निधन भएको थियो ।
वर्षायाम सुरु भएसँगै लामखुट्टे फैलिने भएकोले लामखुट्टेको टोकाईबाट जोगिन स्वास्थ्य कार्यालय तनहुँले आग्रह गरेको छ । बिहान, दिउँसो राती जुनसुकै बेला झुल टाँगेर सुत्ने, पुरा बाहुला भएका र पुरा शरिर ढाक्ने कपडा लगाउने, लामखुट्टेको बासस्थान मास्न पानी जम्न नदिने, घरवरपर सफा राख्न, घरभित्र लामखुट्टे छिर्न नदिन घरको झ्याल ढोकामा जाली लगाउने, लामखुट्टेको वृद्धि हुने स्थानको नष्ट गर्ने जस्ता सजकता अपनाउनु पर्ने स्वास्थ्य प्रमुख अधिकारीले जानकारी दिनुभयो ।
पोथी लामखुट्टेले टोकेर सङक्रमण हुने डेंगुको बिरामी थपिन थालेपछि पानी जम्न सक्ने भाँडा जस्तै, गमला, फूलदानी, खाली बट्टा, खाली ड्रम, गाडीका काम नलाग्ने टायरमा पानी जम्न नदिन आग्रह गरिएको छ ।
स्वास्थ्य प्रमुख अधिकारीले लामखुट्टेबाट बच्न तथा ज्वरो आएमा, बान्ता भएमा वा डेंगुका लक्षण देखिएमा स्वास्थ्य संस्थामा आउन आग्रह गर्नुहुन्छ । पछिल्लो केही साता यता तनहुँमा डेंगुको सङ्क्रमण दर उच्च देखिए संगै ‘खोजौ र नष्ट गरौ’ अभियान सञ्चालन गर्न स्वास्थ्य कार्यालय तनहुँले अनुरोध गरेको छ ।
डेंगु रोगको रोकथाम, नियन्त्रण र न्यूनिकरण लागि लामखुट्टेले फूल पार्ने ठाउँहरु ‘खोजौं र नष्ट गरौं’ भन्ने राष्ट्रिय अभियान अन्तर्गत तनहुँमा पनि सञ्चालन गर्न सबै सरकारी कार्यालय, स्थानीय तहका कार्यालय, सरकारी सस्थानहरु, गैर सरकारी सस्थाहरुलाई अभियान सञ्चालन गर्न पत्रचार गरिएको स्वास्थ्य प्रमुख अधिकारीले जानकारी दिनुभयो ।