कोशी प्रदेशका सभामुख बाबुराम गौतमले पदबाट राजीनामा दिएका छन्। सत्तारुढ गठबन्धनबाट प्रदेश सरकार बनाउन १ मत अपुग भएपछि सभामुख गौतमले पदबाट राजीनामा दिएका हुन्। उपसभामुख सिर्जना दनुवारलाई सम्बोधन गर्दै उनले राजीनामा दिएका छन्।
नेकपा माओवादी केन्द्रबाट सभामुख बनेका गौतम पदमुक्त भएसँगै सत्तारुढ गठबन्धनलाई सरकारमा दावी गर्न आवश्यक मत पुगेको छ। कोशीमा नयाँ सरकार गठनका लागि ९३ सदस्यीय प्रदेशसभामा ४७ सांसदको समर्थन आवश्यक छ।
तर, गठबन्धन दल कांग्रेसका २९, माओवादी केन्द्रका सभामुख बाहेक १२, नेकपा (एकीकृत समाजवादी) का ४ र जनता समाजवादी पार्टीका एक गरी ४६ मात्रै सांसद रहेकाले सभामुख गौतमलाई राजीनामा गराएर बहुमत पुर्याउन लागिएको हो। एमालेको ४० र राप्रपाको ६ प्रदेश सांसद छन्।
सर्वोच्च अदालतले साउन ११ गते मुख्यमन्त्रीमा उद्धव थापाको नियुक्ति बदर गर्दै संविधानको धारा १६८ (२) अनुसार साउन १७ गतेभित्र मुख्यमन्त्री नियुक्त गरिसक्न परमादेश दिएको थियो।
सोही अनुसार प्रदेश प्रमुखले आह्वान गरेको समय आज सकिँदैछ। आज अपरान्ह ५ बजेसम्म लागि दलहरुलाई बहुमतका लागि दाबी गर्न प्रदेश प्रमुख परशुराम खापुङले दिएको समय सकिन लागेको हो।
गौतमको राजिनामासँगै ४७ सदस्यहरुको बहुमतसहितको हष्ताक्षर लिएर नेपाली कांग्रेसका संसदीय दलका नेता उद्वव थापा मुख्यमन्त्रीमा दावी गर्न जादैछन्।