सुदूरपश्चिम प्रदेश सरकारले आज मन्त्री परिषद्का सदस्यहरू थप्ने भएको छ । नेपाली कांग्रेस संसदीय दलले प्रदेशसभा सदस्य शिवराज भट्टलाई आन्तरिक मामिला तथा कानुन मन्त्री बनाउने भएको छ ।
भर्खरै सकिएको दलको बैठकले बैतडी–१ बाट निर्वाचित भट्टलाई मन्त्री बनाउने निर्णय गरेको प्रदेशसभा सदस्य बेलबहादुर रानाले बताए ।
भट्ट गत महिना सडक बझाङमा भएको सडक दुर्घटनामा ज्यान गुमाउने पृथ्वीबहादुर सिंहको स्थानमा मन्त्री बन्ने लागेका हुन् ।
यसअघि आजै नागरिक उन्मुक्ति पार्टी (नाउपा)को संसदीय दलको बैठकले रामेश्वर चौधरी र कैलाश चौधरीलाई सुदूरपश्चिम प्रदेशको मन्त्रीपरिषदमा पठाउने निर्णय गरिसकेको छ ।
नाउपाका दुबै जनालाई एउटै मन्त्रालय भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको मन्त्री र राज्यमन्त्री बनाइँदै छ । रामेश्वर चौधरीलाई मन्त्री र कैलाश चौधरीलाई राज्यमन्त्री बनाउने निर्णय भएको छ ।
कांग्रेस र नाउपाले आफ्नो भागका मन्त्री छानेपछि आजै प्रदेश सरकारले पूर्णता पाउने भएको छ । अहिले ६ बजे नयाँ मन्त्रीहरुको सपथ हुने जानकारी पाएको सांसद रानाले बताउनु भएको छ ।