पार्टी विधानसम्मत नचलेको भन्दै माओवादी केन्द्रीय सदस्यहरुको असन्तुष्टि

नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्यहरुले पार्टी विधिसम्मत रुपले नचलेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। बुधबारदेखि काठमाडौँमा सुरु भएको पार्टीको केन्द्रीय कमिटी बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यहरुले पार्टी विधानअनुरुप नचलेको भन्दै कार्यशैलीमा रुपान्तरण गर्नुपर्ने बताएका हुन्। उनीहरुले पार्टीले बनाएको योजनाहरु कार्यान्वयन नहुने समस्या रहेको पनि बताएका छन्।

बैठकस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै केन्द्रीय सदस्य बलावती शर्माले पार्टीलाई विधि, विधानमा चलाउन नसकिएको बताइन्। उनले महाधिवेशनले नीति र विधि बनाएपछि कार्यान्वयनमा जाँदा भत्किने गरेको बताइन्। सांगठनिक रुपमा पनि पार्टी भद्रगोल भएको भन्दै पार्टी संगठनलाई सुधार गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरिन्। पार्टीको तल्लो कमिटीदेखि नै निर्वाचित भएर नेतृत्वमा आउने व्यवस्था गर्नुपर्ने उनले माग गरिन्।

त्यस्तै, केन्द्रीय सदस्य रामप्रसाद सापकोटा ‘दिपशिखा’ले पार्टी निरन्तर ओरालो लागेको भन्दै अब यो भन्दा ओरालो लाग्ने ठाउँ नरहेको बताए। ०८४ सालसम्म पुग्दा सरकारले गरेका राम्रा कामहरुको बलमा पहिलो पार्टीका लागि प्रतिष्पर्धा गर्ने स्थिति बनाउनुपर्ने बताए। उनले माओवादी पार्टीजति विधानमा अरु कोही उदार नभएको भन्दै आगामी दिनमा यसरी विधान मिच्नु नहुने बताए।

केन्द्रीय सदस्य रामनारायण बिडारीले पार्टीका नेताहरु तल्लो कमिटीबाट निर्वाचित भएर आउनुपर्ने कुरा जोडदार रुपले उठिरहेको बताए। त्यस्तै, पार्टी टाठाबाठा र हुनेखानेको मात्रै भएको भन्दै उनले किसान र मजदुरको पार्टी बनाउनुपर्ने उल्लेख गरे।

केन्द्रीय सदस्य तिलक मल्लले बैठकमा नेपालका समाजवादी शक्तिहरुलाई केन्द्रित गरेर देशको नेतृत्व गर्ने कुराको बहस भइरहेको बताए। उनले सरकारको कामले जनतालाई आशा जगाएको भन्दै यसलाई जनतामा लाने कुरामा कमजोरी रहेको पनि बताए। आगामी दिनमा जनताको अपेक्षा पूरा हुने गरी संगठन निर्माण गर्नुपर्नेमा उनले जोड दिए।

सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै केन्द्रीय सदस्य केशवराज कुँवरले नेताहरुको कार्यशैलीमा सुधार गर्नुपर्ने बताए। उनले पार्टीलाई बहुपदमा लगिएको उल्लेख गर्दै नेताहरुले सामूहिकतामा विश्वास गर्नुपर्ने बताए।

केन्द्रीय सदस्य कल्पना धमलाले देशमा लोकतन्त्रमाथि प्रहार भएको र दलहरुप्रति आशंका र अविश्वासहरु पैदा भइरहेको अवस्थामा पार्टीलाई रुपान्तरण गरेर अगाडि बढ्नुपर्ने बताइन्। उनले पार्टी अध्यक्षले पार्टीलाई रुपान्तरण गर्दै अगाडि बढाउनेमा विश्वास व्यक्त गरिन्।

केन्द्रीय सदस्य युवराज चौलागाईंले यो केन्द्रीय समिति बैठकले पार्टीभित्र देखापरेका संगठनात्मक गतिरोधलाई अन्त्य गर्ने बताए। बैठकले विधान अधिवेशनको मिति तय गर्ने र केही समयभित्रै विशेष महाधिवेशनमा जानेगरी आधार तयार गर्ने उल्लेख गरे।

केन्द्रीय सदस्य टेकबहादुर शाक्यले सुन तस्करीलगायतका भ्रष्टाचार काण्डमा पार्टीभित्रैका मान्छेहरुको संलग्नता भेटिए पनि सरकारले कारबाही गर्नुपर्ने उल्लेख गरे। बैठकमा भ्रष्टाचार नियन्त्रणका लागि सरकार निर्मम बन्नुपर्छ भन्ने कुरा आएको उनले जानकारी दिए। उनले पार्टीका नेताहरु भ्रष्टाचारमा संलग्न भएको पाए जनताले देख्नेगरी कारबाही प्रक्रिया अगाडि बढाउनुपर्ने र निष्पक्ष रुपमा छानबिन गर्नुपर्ने माग गरे।