मधेसलाई सुख्खा क्षेत्र घोषणा गर्न जनमतकाे माग

जनमत पार्टीले मधेसलाई सुख्खा क्षेत्र घोषणा गरी किसानलाई राहत उपलब्ध गराउन माग गरेको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई शनिबार ज्ञापनपत्र बुझाउँदै जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानले सुकेका बालिनालीको उचित क्षतिपूर्तिको व्यवस्था गर्न माग गर्नु भएको छ ।

उक्त पार्टीले खडेरीलगायत प्राकृतिक प्रकोपको दिगो नियन्त्रणका योजना बनाएर सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गराएको छ।

वीरगञ्जलगायत सुख्खा क्षेत्रका जनतालाई घरघरमा खानेपानीको व्यवस्था गर्न, सिँचाइका लागि प्रयोग गरिएको बिजुली निःशुल्क गर्न र पानीको अभावले बिरामी परेका नागरिकको निःशुल्क उपचारको व्यवस्था गर्न माग गरिएको जनमत पार्टीका उपाध्यक्ष खानले बताउनु भयो ।

यस वर्ष तराई–मधेसमा अत्यन्त न्यून वर्षा भएर खडेरी परेको छ। भूमिगत जलाधार स्रोतसमेत सुकेकाले मधेसका जिल्लामा सिँचाइको अभाव हुनुका साथै खानेपानीको समेत हाहाकार मच्चिएको उहाँले बताउनु भयो ।

उहाँका अनुसार खानेपानीका परम्परागत स्रोत इनार र चापाकल सुकेर पानी नआउँदा वीरगञ्ज लगायतका स्थानमा पिउने पानीको ठूलो समस्या परिरहेको छ।

खडेरीका कारण तराई–मधेसको जनजीवन प्रभावित भएको उल्लेख गर्दै उपाध्यक्ष खानले पानी नपरेको अवस्थामा वैकल्पिक सिँचाइको व्यवस्था नहुँदा किसानले धानखेती लगाउन नसकेको बताउनु भयो ।तराई मधेका अधिकांश खेत बाँझै रहेको उहाँकाे भनाइ छ ।

सेताेपार्टीबाट