डेङ्गु सङ्क्रमणबाट एक जना मृत्यु

डेङ्गु रोग सङ्क्रमणबाट हेटौँडा उपमहानगरपालिका –१२ का एक युवकको मृत्युभएको छ । भरतपुरस्थित नयाँ मेडिकल कलेजमा उपचारको क्रममा ती युवाको बिहीबार मृत्युभएको हो ।

स्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्मण घिमिरेका अनुसार तीन दिनअघि हेटौँडाको एक निजी अस्पतालमा जाँच गराउँदा डेङ्गु सङ्क्रमण पुष्टि भएको उहाँलाई थप उपचारका लागि बुधबार भरतपुरस्थित नयाँ मेडिकल कलेजमा लगिएको थियो ।

सूचना अधिकारी घिमिरेका अनुसार ती युवकको अस्पतालमा उपचारको क्रममा मृत्युभएको हो । चालु आवमा साउन १ गतेदेखि बिहीबारसम्ममा ९९ जनामा डेङ्गु सङ्क्रमण हुँदा एक जनाको मृत्यु छ ।

गत आर्थिक वर्षमा मकवानपुरमा पाँच हजार ८६४ जनामा डेङ्गु सङ्क्रमण पुष्टि हुँदा एक जनाको डेङ्गु रोगका कारण मृत्युभएको थियो । सूचना अधिकारी घिमिरेले पछिल्लो घटनाले डेङ्गु रोग नियन्त्रण एवं रोकथामका लागि सचेतना लगायतका कार्यक्रमलाई थप प्रभावकारी बनाउनु आवश्यक देखिएको बताउनुभयो