आज अगस्ट १२ अन्तर्राष्ट्रिय युवा दिवस

आज अगस्ट १२ तारिख । विश्वभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै छ । नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाउन लागिएको छ । सरकारले बर्षेनि विभिन्न कार्यक्रम गरी युवा दिवस मनाउने गरे पनि युवाका मुद्दा कार्यान्वयनमा भने जहिल्यै समस्या देखिने गरेको जानकारहरु बताउँछन् । युवा लक्षित गरी ल्याइएका विभिन्न कार्यक्रम कार्यान्वयन प्रभावकारी नहुँदा युवाका मुद्दा अपेक्षाकृतरुपमा सम्बोधन हुन नसकेको उहाँहरुको गुनासो छ ।

सरकारले युवा विकास तथा परिचालनका लागि २०६५ सालमा युवा तथा खेलकुद मन्त्रालय गठन गरेको थियो । यस्तै पहिलो पटक युवाको नेतृत्व तथा क्षमता विकास, उद्यमशीलताको विकास र स्वरोजगार, युवाको पहुँच र सहभागिताको सुनिश्चिततासँगै समृद्ध राष्ट्र निर्माण गर्ने उद्देश्यसहित २०७२ साल फागुनमा राष्ट्रिय युवा परिषद् गठन गरिएको थियो । युवालाई स्वरोजगार बनाउनका लागि ‘युवा स्वरोजगार कोष’ पनि स्थापना गरिएको छ ।

साथगै राष्ट्रिय युवा नीति २०७२ र यूथ भिजन २०२५ ले पनि युवा विकासका व्यापक विषयलाई नीतिगत रूपमा समावेश गरेको छ । यस्तै प्रदेश, जिल्ला र स्थानीय तहमा पनि युवाका संरचना तयार गरिएका छन् । प्रदेश युवा परिषद्, जिल्ला युवा समिति र युवा क्लब सञ्जाल गठन गरिएका छन् । प्रदेश स्तरमा लुम्बिनी, बागमती र सूदुरपश्चिममा युवा परिषद् गठन गरिएको छ । यद्यपि अझै पनि युवाका मुद्दा किन सम्बोधन हुन सकिरहेको छैन त रु

राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेत युवाको विकासका लागि लक्षित गरी बनेका ऐन र नीति कार्यान्वयन हुन नसकेको गुनासो गर्नुहुन्छ । यस क्षेत्रका लागि विभिन्न कार्यक्रम बनेपनि ती सबैमा बजेट अभावका कारण कार्यान्वयनमा समस्या देखिएको उहाँको बुझाइ छ । “युवासँग सम्बन्धित नीति कार्यान्वयनका लागि बजेटको उपलब्धता अन्त्यन्तै सीमित छ । त्यसैले योजना कार्यान्वयनमा कठिन भइरहेको छ”, उहाँले भन्नुभयो, “युवा सशक्तीकरण, आत्मनिर्भर र स्वरोजगार बनाउन राज्यले जुन मात्रामा प्रथामिकता दिनुपर्ने हो त्यो अझै पुग्न सकेको छैन ।” उहाँले राज्यले पनि युवालाई प्राथमिकतामा राख्न नसकेको बताउनुभयो ।

युवाका सवाललाई सम्बोधन गर्ने उद्देश्यले संयुक्त राष्ट्रसङ्घले सन् १९९९ देखि हरेक वर्षको अगस्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा मनाउने निर्णय गरेसँगै सन् २००० देखि नियमितरूपमा विश्वभर युवा दिवसका सन्दर्भमा विविध कार्यक्रम हुँदै आएका छन् । नेपालमा भने युवासँग काम गर्ने सङ्घसंस्थाको अगुवाइमा पहिलो पटक सन् २००४ देखि यो दिवस मनाउन थालिएको हो । परिषद्कै अगुवाइमा २०७३ सालदेखि युवा दिवस मनाउन थालिएको हो ।

राष्ट्रिय युवा सङ्घका अध्यक्ष क्षितिज थेवेले युवाका क्षेत्रमा माग गरिएका संरचना र कानून बनेपनि योजना कार्यान्वयनमा समस्या रहेको बताउनुभयो । नयाँ नेपाल बनाउने हो भने पहिलो शक्ति नै युवा  भएकाले राज्यले युवामैत्री गतिविधि सञ्चालन गर्नुपर्ने उहाँको सुझाव छ । युथ भिजन २०२५ र युवा स्वरोजगार कोष कार्यान्वयनमा पनि समस्या देखिएको उहाँको बुझाइ छ ।

“राज्यले युवामैत्री गतिविधि र कार्यक्रम ल्याएर युवालाई समृद्ध नेपालको अभियन्ता बनाउनसक्नुपर्छ”, उहाँले भन्नुभयो, “राज्यले युवालाई जति सदुपयोग गर्न सक्यो त्यति नै चाँडै मुलुक निर्माण हुनसक्छ ।” राज्यले आगामी १० वर्षलाई युवा दशकका रुपमा मनाएर युवालाई परिवर्तन र राष्ट्रिय पुँजी निर्माणको सम्वाहकका रुपमा लैजानसक्नुपर्ने उहाँको सुझाव छ ।