रोकिएन कालीगण्डकी करिडोरमा पहिरो खस्ने

बिहीबार दिउँसोदेखि कालीगण्डकी करिडोरमा पहिरो खस्ने क्रम रोकिएको छैन । जिल्लाको कालीगण्डकी गाउँपालिका–१ हर्मिचौरदेखि अर्वेनी सडकखण्डको ठूलाखोलामा सडक माथिबाट ढुङ्गासहित पहिरो खस्ने क्रम शनिबार दिउँसोसम्म नरोकिएपछि सडक अवरुद्ध भएको हो । पहिरो पन्छाउनका लागि तीन वटा स्काभेटर प्रयोग गरिएको सो सडकको पिच गर्ने जिम्मा पाएको कालिका कन्ट्रक्सनका इन्जिनियर गौरब बिक्रम शाहाले जानकारी दिनुभयो । पहिरोमा ठूलो ढुङ्गा रहेको र माथिबाट ढुङ्गा खस्नेक्रम जारी रहेकाले सडक पूर्ण रुपमा खुलाउन नसकिएको शाहाले बताउनुभयो ।

शुक्रबार साँझ साना गाडी छिर्ने गरी बाटो खुलाए पनि ठूला गाडीहरु जान सक्ने गरी पूर्ण रुपमा सडक खुलाउन नसकिएको शाहाको भनाइ छ । गुल्मीको हर्मिचौरदेखि बाग्लुङ बलेवासम्मको ४५ किलोमिटर सडक पिच गर्न तीन अर्बको लागतमा  २०७९ मङ्सिर २६ गते सम्झौता भई २०८२ मङ्सिर २५ गते कार्य सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख गरिएको छ । कालीण्डकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पल्लीले एक सूचना जारी गर्दै सडक खुलाउन समय लाग्ने भएकाले अर्को सूचना जारी नभएसम्म सो सडकमा यात्रा नगर्न अनुरोध गर्नुभएको छ । सडक अवरुद्ध हुँदा हर्मिचौरदेखि गाउँपालिकाको केन्द्र पूर्तिघाटसम्म जाने ठूला  सवारी, यात्रुहरु र पूर्तिघाटबाट बुटवलसम्म जाने सवारी साधन र यात्रुहरु अलपत्र परेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *