नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले पाकिस्तानमा जस्तै प्रतिशोधको राजनीति गरेको आरोप लगाएका छन् । शनिबार गुरु लुइँटेल स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा उनले सरकारको विरोधमा बोल्नेहरुलाई अनेक बहानामा दुख दिएको बताएका हुन् ।
उनले सुन तस्करी काण्डमा गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग गरेकै आधारमा सांसद सुनिल शर्मालाई नक्कली प्रमाणपत्रको मुद्दामा पक्राउ गरेको आरोप लगाए‘कोही बोल्यो भने कुनै नामको एउटा मुद्दा, युवा हुँदा पढेको मुद्दा बुढो हुँदा निकालेर । … युवा हुँदा पढेको आईएससीको सर्टिफिकेट मामिला निकालेर… त्यो छानबिन गरेर हुन्थ्यो नि पहिले हत्कडी लगाए’, ओलीले भने ।
सुनिल शर्मा दोषी थिए भने पहिले पनि पक्राउ गर्न सक्ने भन्दै ओलीले संसदमा सुनकाण्डको विरोधमा बोलेपछि पक्राउ गरेर सरकारले प्रतिशोध लिन खोजेको बताएका हुन् । ‘पार्लियामेन्टमा सुनकाण्डको विरोध गरेपछि अचानक हत्कडी लगाउन आयो । किन भन्दा उहिले तिमी विद्यार्थी हुँदा छेउको साथीको चिट चोरेका थियौं नि …!’ ओललिे भने ।
आफूहरुले सुन तस्करी प्रकरणको सत्य तथ्य छानबिनका लागि निष्पक्ष समिति बनाउन माग गर्दा सरकारले नमान्नु रहस्यपूर्ण भएको ओलीले बताए । ‘उहाँहरु निष्पक्ष छानबिन समिति बनाउन मान्नुहुन्न । हामी छानबिन गरिहाल्छौं नि भन्नुहुन्छ, त्यसोभए एयरपोर्टमा किन छानबिन गर्नुभएन’ ओलीले भने । उनले अगाडि भने, ‘निष्पक्ष छानिबिन समित बनाऔं, आयोग बनाऔं, त्यसले नभएको कुरा त ल्याउँदैन होला । ’
सरकारले निष्पक्ष छानबिन गर्न नदिएको मात्र नभई अहिले त सुन तस्करीविरुद्ध संसदमा आवाज पनि उठाउन नदिएको ओलीले बताए । ‘प्रतिपक्षले उठेर सुन तस्करी छानबिन भन्नेवित्तिकै सत्तापक्ष ज¥याकजुरुक उठेर हाहु हाहु गर्न थाल्छ । सत्तापक्षले मात्र बोल्न पाउँछ, प्रतिपक्षले बोल्न पाउँदैन’, उनले भने । संसदको समय खेर फाल्नुहुन्न भन्नेमा आफूहरु सजग रहेको जिकिर गर्दै ओलीले भने, ‘तर चोर उम्काउन पनि भएन नि ।’