दाङमा बाढीले बगाउँदा एक जना वृद्ध बेपत्ता

दाङमा एक वृद्धलाई बाढीले बगाएको छ। घरबाट हिँडेका घोराही उपमहानगरपालिका–११ निवासी ६४ वर्षीय तिलकराम विकलाई पत्रे खोलाले बगाएको हो। घरनजिकै रहेको खोलामा शौच गर्न बसेका विकलाई माथिबाट आएको बाढीले बगाएको प्रहरीले जनाएको छ।

वृद्धको छाता,चश्मा र लठ्ठी प्रहरीले फेला पारेको छ। बिहान करिब साढे ८ बजे बगेका विकको प्रहरीले अहिले खोजतलासको काम जारी राखेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक राजन गौतमले जानकारी दिए।

गएराति परेको अविरल वर्षाका कारण दाङका खोलाहरुमा बाढी आउनुका साथै पानीको सतह अत्याधिक बढेको छ।