काठमाडौँ महानगरपालिकाले कक्षा ६ देखि १० सम्मका विद्यार्थीलाई यही भदौदेखि दिवा खाजाको व्यवस्था गर्ने भएको छ। गत वर्ष कक्षा ८ सम्म दिँदै आएको खाजा महानगरले यसवर्ष कक्षा १० सम्मका विद्यार्थीलाई दिने व्यवस्था गरेको महानगरपालिका शिक्षा विभागका अधिकारी सीताराम कोइरालाले जानकारी दिए। उनका अनुसार सङ्घीय सरकारले कक्षा ६ सम्म प्रतिविद्यार्थी १५ रुपैयाँ दिँदै आइरहेकामा महानगरले गत वर्षदेखि १० रुपैयाँ थपेर २५ रुपैयाँ बनाएको थियो। सामुदायिक विद्यालयमा प्रारम्भिक बालविकासदेखि कक्षा ५ सम्म अध्ययनरत विद्यार्थीका लागि सरकारले दिँदै आएको १५ रुपैयाँमा महानगरले १५ रुपैयाँ थप गरी ३० रुपैयाँ पुर्याएको कोइरालाले बताए। भदौदेखि कक्षा ६ देखि कक्षा १० सम्मलाई पनि दिवा खाजाको व्यवस्थापन गर्न महानगरअन्तर्गत शिक्षा विभागले विद्यालयलाई पत्राचार गरेको छ।