प्रधानन्यायाधीश श्रेष्ठ नियुक्त, भोलि सपथ

राष्ट्रपति रामचन्द्र पौडेलले कामु-प्रधानन्यायधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई प्रधानन्यायधीश नियुक्त गरेका छन्। संवैधानिक व्यवस्था अनुसार राष्ट्रपति पौडेले आज साँझ उनलाई प्रधानन्यायधीशमा नियुक्त गरेका र भोलि मंगलबार सपथ गराइने राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी ‘भट्टराई’ले थाहाखबरलाई जानकारी दिइन्।

उनको आजै संसदीय सुनुवाइ भएको र सर्वसम्मतरुपमा अनुमोदन गरिएको थियो। समितिमा श्रेष्ठले १८ पन्ने आफ्नो कार्ययोजना प्रस्तुत गरेका थिए। त्यसपछि समितिले उनको नाम सर्वसम्मत रुपमा अनुमोदन गरेको थियो।

श्रेष्ठले कार्ययोजना प्रस्तुत गर्दै न्यायपालिकाको सुधारसम्बन्धी प्रस्तुत कार्ययोजनालाई इमानदारीपूर्वक कार्यान्वयन गर्न प्रतिबद्धता व्यक्त गरेका थिए। उनले समिति समक्ष कार्ययोजना प्रस्तुत गर्दै महिलावादी भएका मुद्दाका सुनुवाईका लागि पारिवारिक इजलासको स्थापना गर्ने बताएका छन्। साथै थुनुवा, वृद्ध, अशक्त असहाय व्यक्तिहरुको मुद्दाको पेशीमा प्राथमिकता दिइने श्रेष्ठले उल्लेख गरेका छन्।

न्यायपालिकाको स्वतन्त्रतासम्बन्धी मूल्य मान्यतालाई अक्षुण राख्दै छिटोछरितो, स्वच्छ, निष्पक्ष, सुलभ, गुणस्तरीय एवम् प्रभावकारी न्याय सम्पादनको माध्यमबाट सबैलाई न्याय सुनिश्चित गर्नुपर्ने औँल्याएका थिए। यसअघि संवैधानिक परिषदको बैठकले श्रेष्ठलाई प्रधानन्यायाधीशमा सिफारिस गरेपछि संसदीय समितिले सुनुवाइ प्रक्रिया सुरु गरेको थियो।