मलेसियामा जारी चार देश सहभागी महिला टी–२० आई सिरिजको फाइनलमा शनिबार नेपाल र हङकङबीच खेल हुँदैछ। अन्तिम खेलमा मलेसियासँग पराजित भए पनि नेट रनरेटको कारण शीर्षस्थानमा रहँदै नेपाल फाइनलमा पुगेको हो ।
शुक्रबार भएको समूहको अन्तिम खेलमा नेपाल घरेलु टोलीसँग ६ विकेटले पराजित भएको हो। नेपाल तीन खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ शीर्ष स्थानमा छ। नेपालको नेटरनरेट ०.८५३ छ। अघिल्ला दुई खेलमा नेपालले कुवेतलाई र हङकङलाई हराएको थियो।
हङकङ तीन खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा छ। हङकङको नेट रनरेट ०.१९२ छ। हङकङले कुवेत र मलेसियालाई हराएको थियो। मलेसिया तीन खेलमा २ मा जित र १ मा हारसहित ४ अंक भए पनि नेट रनरेटका कारण तेस्रो स्थानमा पुग्यो। मलेसियाको नेटरनरेट ०.००७ रह्यो ।
कुवेत तीन खेलमा तीनवटैमा हारका साथ अंकविहीन हुँदै बाहिरियो। तेस्रो स्थानको लागि शनिबार नै मलेसिया र कुवेतबीच प्रतिस्पर्धा हुनेछ ।