१४ गते रक्षाबन्धन, जनैपूर्णिमा र गाईजात्रा पर्व

नेपाल पञ्चांग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो (पञ्चांग) मा रक्षाबन्धन, जनैपूर्णिमा र गाईजात्रा पर्व भदौ १४ गते बिहीबार पर्ने उल्लेख गरिएको छ । यस वर्ष तिथिको घटबढका कारण दुई दिन पर्ने पर्व एकै दिन परेको समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा. देवमणि भट्टराईले बताउनु भएको छ ।

उहाँका अनुसार रक्षाबन्धन एवं जनैपूर्णिमा पर्व श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइन्छ । पूर्णिमा तिथि रहेका बेला सूर्योदय भएको दिन रक्षाबन्धन एवं जनैपूर्णिमा पर्व मनाउनुपर्ने भएकाले भदौ १४ गतेलाई निर्णय गरिएको प्रा. भट्टराईले बताउनु भयो । ‘गाईजात्रा पर्व भने भाद्रकृष्ण प्रतिपदाका दिन मनाइन्छ । भदौ १४ गते बिहान पूर्णिमा तिथि छ,’ उनले भने, ‘सोही दिनको बिहान ७:४९ बजेपछि भाद्र कृष्ण प्रतिपदा तिथि लाग्ने भएकाले गाईजात्रा अर्थात सापारु पर्व पनि त्यसै दिन मनाउनुपर्ने निर्णय समितिले गरेको हो ।’