नेपालले पहिलो पटक क्रिकेटकाे विश्व च्याम्पियन पाकिस्तानसँग खेल्दै

एशिया कप क्रिकेटमा नेपालले भोलि इतिहासमै पहिलो पटक विश्व च्याम्पियन टोली पाकिस्तानसँग खेल्दै प्रतियोगिताको शुरुवात गर्ने भएको छ। ओडिआई क्रिकेटको वरीयतामा शीर्ष स्थानको पाकिस्तान र तेस्रो स्थानको भारतसँग नेपालले पहिलो पटक प्रतिस्पर्धा गर्न लागेको हो। नेपाली समय अनुसार भोलि दिउँसो ३ बजेर १५ मिनेटमा मुल्तान क्रिकेट रंगशालामा नेपालले पाकिस्तानविरुद्ध ऐतिहासिक खेल्न लागेको हो।

भोलि नेपालका कप्तान रोहित पौडेलले मुल्तानमा विश्व क्रिकेटका बादशाह तथा पाकिस्तानका कप्तान बाबर आजमसँग टसका लागि जानेछन्। त्यसवेला नेपाली क्रिकेटलाई विश्वले हेर्ने र चिन्ने छ। पाकिस्तानविरुद्ध खेल्न नेपालले बलियो टोली उतारेको छ। खेलअघि आज भएको पत्रकार सम्मेलनमा कप्तान रोहित पौडेलले नेपालले एशिया कपमा डेब्यू गर्न लागेकाले नेपाली क्रिकेटका लागि ठूलो उपलब्धि भएको बताउँदै नेपालीका लागि भोलि उत्सव जस्तै हुने बताएका छन्।

रोहितले पाकिस्तानविरुद्ध खेल्न आफूहरु आतुर रहेको र प्रतिस्पर्धात्मक क्रिकेट खेल्ने बताएका छन्। पहिलो पटक सहभागिता जनाउँदै गरेको नेपाली टोलीलाई कमजोर रुपमा नलिन क्रिकेट पण्डितहरुले पाकिस्तान र भारतलाई सुझाव दिएका छन्। कुनै पनि खेल नै परिवर्तन गराउन सक्ने बलर तथा ब्याटर रहेको नेपालले इतिहाससमेत बनाउन सक्ने दावी उनीहरुले गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *