
शुक्रबार भएको खेलमा नेपालले बहराइनमाथि १० विकेटको सानदार जित निकालेको हो । जितसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना बलियो बनेको छ ।
बहराइनले दिएको ३२ रनको झिनो लक्ष्य नेपालले २.५ ओभरमा बिना विकेटको क्षतिमा भेट्टाएको हो । नेपालका लागि कविता कुँवर १७ र सीता राना मगर २ रनमा अविजित रहिन् । १४ बलको सामना गरेकी कविताले तीन चौका प्रहार गरेकी थिइन् ।
यसअघि मलेसियाको क्वालालम्पुर सेलान्गोर टर्फ क्लबमा टस जितेर ब्याटिङ रोजेको बहराइनले १५.४ ओभरमा सबै विकेट गुमाएर ३१ रनको योगफल तयार पारेको थियो । बहराइनका लागि दिपिका रासंगिकाले ११ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
नेपालका लागि इन्दु बर्माले ३, खुसी डंगोलले २ तथा कप्तान रुबिना क्षेत्री, कविता कुँवर र पूजा महतोले समान १-१ विकेट लिएका थिए । नेपालले आफ्नो पहिलो खेलमा घरेलु टोली मलेसियालाई ५ रनले पराजित गरेको थियो ।
लगातार दोस्रो जितसँगै नेपालले ४ अंक जोडेको छ । बहराइनलको समान खेलबाट २ अंक छ । नेपाल रहेको समूह ‘ए’ मा बहरान, भुटान, मलेसिया, कतार र यूएई छन् ।
नेपालले आफ्नो तेस्रो खेलमा आइतबार भुटानसँग प्रतिस्पर्धा गर्नेछ ।