भदौ २० देखि २४ गतेसम्म ललितपुरमा महिला उद्यमी मेला–२०८०हुने

साना तथा मझौला व्यवसायी महासंघ नेपालले महिला उद्यमी मेला–२०८० आयोजना गर्ने भएको छ । शुक्रबार महासंघले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै भदौ २० गतेदेखि २४ गतेसम्म ललितपुर पुल्चोकस्थित याक प्यालेसमा महिला उद्यमी मेला–२०८० गर्ने जानकारी दिएको हो ।

महासंघले महिलाहरुले उत्पादित सामग्री प्रवर्द्धन तथा विकास गर्ने उद्देश्यले महिला उद्यमी मेला–२०८० गर्ने लागेको बताएको छ । पत्रकार सम्मेलनमा महासंघका महासचिव कुमार भुजेलले एक घर एक व्यवसायप्रति प्रतिवद्ध साना तथा मझौला व्यवसायीहरुलाई एकीकृत रुपले एकतावद्ध गराउने उद्देश्य रहेको बताउनुभयो ।

महासचिव भुजेलले साना तथा मझौला उद्यमीहरुको मुलुकभर सञ्जाल विस्तार गरी उद्यमशिलता र बहुआयामिक उत्पादनहरुको विकास र प्रवर्द्धनका निम्ति सहजिकरण गर्ने उद्देश्यले पाँच दिने महिला उद्यमी मेला आयोजना गर्न लागिएको बताउनुभयो । उहाँले मेलामा महिला उद्यमीहरुले उत्पादन गरेका हस्तनिर्मित सामानहरु हस्तकला, लत्ताकपडा, कस्मेटिक सामग्री, दैनिक उपभोग्य सामानहरु, खाद्यान्न सामग्री, नर्सरी तथा फलफूल, कृषिजन्य उत्पादन, काष्ठजन्य घर सजावटका सामग्री, विभिन्न आर्टहरु प्रदर्शनीमा राखिने बताउनुभयो ।

महासचिव भुजेलले प्रदर्शनीमा ७० वटा स्टल राखिने जानकारी दिनुभयो । उहाँले महिला उद्यमी मेलामा १० हजारले अवलोकन गर्ने अपेक्षा रहेको बताउनुभयो । मेलामा ५० लाखसम्म कारोबार हुने अपेक्षा पनि आयोजकको छ ।