कतारलाई पराजित गर्दै नेपाल मलेसियामा

कतारलाई ९ विकेटले पराजित गर्दै नेपाल मलेसियामा जारी आईसीसी वुमन्स टी-२० विश्वकप एसिया छनोटमा समूह ए बाट सेमिफाइनलमा प्रवेश गरेको छ ।

कतारले दिएको ७५ रनको लक्ष्य नेपालले १०.३ ओभर खेल्दै एक विकेट गुमाएर पूरा गर्‍यो । नेपालको जितमा काजल श्रेष्ठले सर्वाधिक ३२ रन बनाए ।

समूह ए मा लगातार चौथो जित हात पारेको नेपालको ४ खेलबाट ८ अंक छ । नेपालले अब समूहको अन्तिम खेलमा बुधबार यूएईसँग खेल्नेछ । उक्त खेल समूह विजेता बन्नका लागि निर्णायक बन्नेछ । यूएईले अहिले बहराइनसँग खेलिरहेको छ ।

यसअघि ब्याटिङमा देखिएको समस्या यस खेलमा नेपालले केही हदसम्म सुधार गर्‍यो । काजल श्रेष्ठ र सीता राना मगरले पहिलो विकेटका लागि ७ ओभरमा ४७ रनको साझेदारी गरे ।