पछिल्लो पाँच दिनमा नेपालमा करिब दुई हजारभन्दा बढीमा डेंगु संक्रमण भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)को पछिल्लो विवरण अनुसार ३ सेप्टेम्बरयता संक्रमितको संख्या २२ हजार ६२७ बाट बढेर २४ हजार ८४२ जना पुगेको थियो।
यसअघि अगस्ट ३० सम्म संक्रमितको संख्या २१ हजार २०६ रहेको थियो। यसरी हेर्दा पछिल्ला दिनमा डेंगु संक्रमितको संख्या बढेको इडिसिडीको तथ्याङकले देखाएको छ।
इडिसिडीको विवरणअनुसार डेंगुकै कारण मृत्यु हुनेको संख्या पनि १४ जना पुगेको छ। इडिसिडीको विवरणअनुसार पछिल्लो समय डेंगु संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन।
विवरणअनुसार कोशी र बागमती प्रदेशमा संक्रमण तिब्र बढेको देखिएको छ। कोशी प्रदेशमा हालसम्म १९ हजार ५३ जना र बागमती प्रदेशमा ३ हजार ३३४ जना संक्रमित रहेका छन्।
यस्तै जिल्ला तहबाट संक्रमणको विवरण हेर्दा हालसम्म झापा, सुनसरी, मोरङ र धादिङमा हालसम्म संक्रमितको संख्या धेरै रहेको छ। यी चार जिल्लामा एक हजारभन्दा बढी संक्रमित रहेका छन्।
धादिङमा २ हजार १९७, मोरङमा २ हजार २५४, झापामा १ हजार ३६४ र सुनसरीमा १ हजार ४२२८ जना संक्रमित रहेका छन्। यो वर्ष सुनसरीको धरानमा डेंगुले महामारीकै रुप लिएको देखिन्छ।
कुनै पनि जिल्लामा ५ सयभन्दा धेरै संक्रमित भेटिएमा उक्त जिल्ला संक्रमणको ‘रेड जोन’ मा रहेको मानिन्छ। संक्रमणको दर हेर्दा यस वर्ष भेटिएका सबैभन्दा धेरै ५७ प्रतिशत संक्रमित सुनसरीमा रहेका छन्।
यस्तै सेप्टेम्बर महिना लागेपछि काठमाडौंमा पनि डेंगुका बिरामी बढेको इडीसिडीको विवरणले देखाएको छ। हाल काठमाडौंमा ४ सय ६३ जना संक्रमित रहेका छन् भने ललितपुरमा १८५ र भक्तपुरमा १७२ जना डेंगु संक्रमित रहेका छन्। अघिल्लो वर्ष ललितपुर डेंगु संक्रमणले सबैभन्दा धेरै प्रभावित भएको थियो।
इडिसिडीकै विवरण हेर्ने हो पनि गत वर्ष सेप्टेम्बर महिनामा डेंगुका सबैभन्दा धेरै बिरामी भेटिएका थिए। नेपालमा गत वर्षहरूमा डेंगु संक्रमणको बढ्दो प्रवृत्ति हेर्दा अझै एक महिना डेंगु संक्रमण तीव्र बढ्ने देखिन्छ।