सामाजिक विद्वेष फैलाउने तत्वहरु क्रियाशील छन् : ओली

नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा सामाजिक विद्वेष फैलाउने तत्वहरु अहिले पनि क्रियाशील रहेको बताउनुभएको छ । 

जात, वडा, पालिकामा मिलेर बसेको देख्न नसक्नेहरुले मुलुकमा साम्प्रदायिक विद्वेष फैल्याउने काम गरिरहेको अध्यक्ष ओलीको भनाइ छ । तिजको अवसर पारेर पार्टी निकट महिला संगठन अखिल नेपाल महिला संघ, मध्यपुर थिमी नगर कमिटीले शनिवार भक्तपुरमा आयोजना गरेको कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।

हाम्रा चाडपर्वसँग ठ्याक्कै मेल नखाने गतिविधि हुनु सुखद् नभएको पनि बताउनुभयो । अध्यक्ष ओलीले हाम्रा चाडपर्वको अर्थ सामाजिक सदभाव कायम गर्नु रहेको चर्चा गर्नुहुँदै त्यसले सबै समुदायमा निकट्ता ल्याउने माध्यामको रुपमा काम गरिरहेको स्मरण गर्नुभयो ।तीज पर्वले महिलामा सबैभन्दा बढी खुशीयाली ल्याएको भन्दै उहाँले त्यसो हुनु सबैका लागि खुशीको कुरा भएको चर्चा गर्नुभयो ।

ओलीले भन्नुभयो, ‘हाम्रो हरेक चाडका पछाडि विशेष अर्थ, विशेष महत्व छ । त्यसको एउटा धार्मिक पक्ष होला । धार्मिक पक्षको रुपमा त्यसलाई विकास गरिएको होला । दशैँको अर्थ पनि त्यही हो, तिहारको पनि त्यही हो । आफन्त मान्यजन कहाँ पुग्नैपर्छ । आशीर्वाद लिनैपर्छ ।’

अध्यक्ष ओलीले चाडपर्वलाई नेपालीले उत्सवको रुपमा मनाउनेगरेको र त्यसले सामाजिक प्रवन्धहरुलाई व्यवस्थित बनाउन महत्वपूर्ण भुमिका निर्वाह गरिरहेको  विश्वास व्यक्त गर्नुभयो ।