नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्बाङको निधनबाट नेपालको कम्युनिष्ट तथा लोकतान्त्रिक आन्दोलनका साथै समग्र राष्ट्रकै लागि अपूरणीय क्षति पुगेको छ ।
अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज बसेको पार्टीको केन्द्रीय सचिवालयको आकस्मिक बैठकले उपाध्यक्ष नेम्वाङले पार्टी, कम्युनिष्ट आन्दोलन र लोकतान्त्रिक आन्दोलनमा पुर्याउनुभएको योगदानको उच्चमूल्याङकन गर्दैै विशेष शोक प्रस्ताव पारित गरेको छ । उहाँको निधनमा तीन दिन शोक मनाउने भएको छ ।
बैठकले उपाध्यक्ष नेम्बाङको सम्मानमा तीन दिनसम्म देशभरिका पार्टी कार्यालयमा पार्टीको झण्डा आधा झुकाउने निर्णय गरिएको कार्यवाहक महासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।
उहाँका अनुसार तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय, जिल्ला कार्यालय तथा इलाम निर्वाचन क्षेत्र नं. २ मा शोक पुस्तिका राखिने छ ।
पार्टी र पार्टी सम्बद्ध जनसङ्गठनका औपचारिक कार्यक्रम तीन दिनसम्म स्थगित गरिएको उपमहासचिव ज्ञवालीले जानकारी दिनुभयो । स्व. नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गर्न पार्टीले असोज २ गते श्रद्धाञ्जली सभा आयोजना गर्ने निर्णय गरेको छ ।