मोतीराम भट्टको जन्म १९२३ साल कुशेऔसीका दिन भदौ २५ गते,शनिबार काठमाडौँको भोसिको टोलमा भएको थियो। मोतीराम भट्टको वंशचाहिँ कुमाउगढबाट आएको थियो। मोतीराम भट्ट पण्डित दयाराम भट्ट र रिपुमर्दिनीदेवी भट्टका माइला सुपुत्रका रूपमा जन्मेका थिए। भट्ट दम्पतिका प्रथम पुत्रचाहि जन्मनासाथ दिवङ्त भएका थिए। मोतीराम भट्टलाई दीर्धजीवी राख्न उनका मातापिताले यिनका नाकको दाहिने पोरा छेडिदिएका थिए। नाक छेडेपछि यिनलाई उनका साथीहरूले केटी भनेर गिज्याउँथे भन्ने कुरा पं. नरदेव पाण्डे व्यक्त्याउँछन्।
मोतीराम भट्टले ५ वर्षको उमेरमा अक्षरारम्भ गरेका थिए। ६ वर्ष भएपछि यी काशी पुगेका थिए। किनभने त्यसबेला यिनका पिता पं. दयाराम भट्ट र आमा रिपुमर्दिनीदेवी विशेष कामले काशी बसेका थिए। त्यसपछि मोतीराम भट्टको शिक्षाको प्रारम्भिक जग काशीमा नै बस्न थाल्यो। त्यहाँ यी फारसी स्कूलमा भर्ना भए र त्यहीँ बस्ताबस्तै यिनले फारसी र उर्दू पढ्न थाले। काशीमा यिनको भेट भारतेन्दु हरिश्चन्द्रसँग भयो, भारतेन्दु मोतीरामझैँ पोख्त थिए। भारतेन्दुसँग गहकिलो सङगत गर्दै उनले नेपाली साहित्यको सेवा गरे र यी पढाइमा पनि समर्पित भइरहे। हुँदाहुँदै मोतीराम पछि फारसी, उर्दूका अतिरिक्त संस्कृत, हिन्दी, अङ्ग्रेजी भाषामा पनि दक्ष हुन थाले। बनारसमा यिनले हरिश्चन्द्र स्कूलमा अङ्ग्रेजी भाषासाहित्यको अध्ययन गरेका थिए। पढ्दापढ्दै आठ वर्षको उमेरमा बनारसमा नै यिनको व्रतबन्ध गरियो।
बनारस बस्दा उनले गजल गाउन र सितारवादन सिके। बनारसका प्रसिद्ध सितारवादक पन्नालालबाट यिनले सितार बजाउन र गीत गाउन सिकेका थिए। करिब आठ वर्ष बनारस बसेर यी १९३७ सालमा पुनः काठमाडौँ भित्रिए। त्यसै साल यिनले १५ वर्षको उमेरमा बिहे गरे। विवाहपछि यी केही दिन काठमाडौमा नै बसे। त्यसबेलासम्म उनी नेपाली भाषामा लेखिएका मीठामीठा गीत, कविता, भजन र गजल सुन्नबाट वञ्चित थिए। बनारसमा बस्ता यिनले चार सयजति शायरीहरू लेखिसकेका थिए तर त्यस बेलासम्म यिनले नेपाली गीत, कविता र गजल कोरेकै थिएनन्। त्यसै बखत यिनले नरनारीका युगलरदोहरीरजुहारी गीत सुन्न पाए। वास्तवमा त्यस बेला सुनेको रसिया गीतले यी मोहित पनि भए। त्यसपछि उनले यस्ता मीठा गीतहरूलाई हृदयमा रोप्न थाले, मस्तिष्कमा खेलाउन थाले र स्वरद्वारा प्रस्तुत गर्न थाले। अनि केही दिनपछि उनका छिमेकी खड्गदत्त पाण्डेको बिहेमा उनी पनि जन्ती गए। त्यहाँ पनि भट्टले रातभरि श्लोकमा जुहारी खेलेको सुने अनि नेपाली भाषामा पनि यति मीठा कविता लेखिँदा रहेछन् भन्ने कुराको उनीमा झन् सारो ज्ञान पलायो; ती सबै जुहारी सिलोकहरू भानुभक्तले लेखेका हुन् भन्ने चाल पाएपछि उनी एक्कासि भानुभक्त आचार्यका गुनगानमा लाग्न थाले। त्यसपछि उनी भानुभक्त आचार्यका कृतिहरू खोजीखोजी प्रकाशन गर्ने काममा जुटे। केही महिना काठमाडौमा बसेर आफ्नी पत्नीसहित उनी संवत् १९३८को पुसमा काशी गए। काशी पुगेर यिनले ‘भारतजीवन’ भन्ने हिन्दी पत्रिकाको नेपाली संस्करण ल्याई यसको प्रकाशकीय र सम्पादकीय लेखेर भारतजीवन छापाखानासँग सम्बन्धित पनि बने। छापाखानाबाट यिनले नेपाली भाषाका पुस्तकहरू छापे। त्यसै बेला यिनले बनारसमा केही साथीहरूको सक्रियतामा एउटा मित्रमण्डलीको गठन गरे। त्यहीँ यिनले समस्यापूर्तिका कवितालगायत अन्य फुटकर कविता र गजल-लेखनको अभियान पनि चलाए। बनारसमा यस कार्य क्रममा उनलाई सघाउने व्यक्तिहरू पद्मविलास पन्त, काशीनाथ, रनाथ, तेजसिंह र तेजबहादुर राना थिए ।