सर्वोच्च अदालतको न्यायाधीशमा विनोद शर्माको नाम अनुमोदन भएको छ । शुक्रबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले उच्च अदालत पाटनका न्यायाधीश शर्मालाई सर्वोच्च अदालतको न्यायाधीश नियुक्ति गर्न न्यायपरिषद्ले गरेको सिफारिस सर्वसम्मतिले अनुमोदन गरेको हो ।
योग्यता, क्षमता र अनुभवको आधारमा शर्मालाई सर्वाेच्च अदालतको न्यायाधीश पदका लागि गरिएको सिफारिस सर्वसम्मतिले अनुमोदन गरिएको समितिका ज्येष्ठ सदस्य (सभापति) पशुपति समशेर जबराले जानकारी दिनुभयो ।
‘‘न्याय परिषदबाट सर्वोच्च अदालतको न्यायाधीशमा नियुिक्तका लागि सिफारिस गरी मिति २०८५/५/११ मा समितिमा पत्र प्राप्त भएको थियो । संसदीय सुनुवाइ समिसतिको मिति २०८०/५/१५ गते बसेको बैठकले प्रस्तावित सर्वोच्च अदालतको न्यायाधीश उपर उजुरीका लागि १० दिनको समयावधि राखि उजुरी सूचना प्रकाशन, प्रशारण गर्ने निर्णय गरेको थियो । उक्त अवधिमा निजउपर कुनैपनि सूचना वा उजुरी समिति समक्ष प्राप्त भएको थिएन । त्यसपछि आजै प्रस्तावित न्यायाधीशलाई समितिमा आमन्त्रित गरी संसदीय सुनवाइ कार्य समेत सम्पन्न गरियो ।,’’ समितिका ज्येष्ठ सदस्य (सभापति) जबराले भन्नुभयो, ‘‘तत्पश्चात आजको समितिको बैठकले श्री विनोद शर्मालाई सर्वोच्च अदालतको न्यायाधीशमा प्रश्तावित गरी नेपालको संविधानको धारा २९२ को उपधारा १ बमोजिम संसदीय सुनुवाइका लागि प्राप्त भएकोमा सङ्घीय संसदको संयुक्त बैठक र संयुक्त समिति नियमावली २०८० तथा संसदीय सुनुवाइ समितिको कार्यविधि २०८० बमोजिम समितिले सुनुवाइ गर्दा प्रश्तावित व्यक्तिको योग्यता, क्षमता र अनुभव समेतको आधारमा संघीय संसदको संयुक्त बैठक र संयुक्त समितिमा नियमावली २०८० को नियम २६ को उपनियम ५ बमोजिम प्रस्तावित व्यक्तिलाई सर्वोच्च अदालतको न्यायाधीशका लागि अनुमोदन गर्ने प्रस्ताव पारित गरियो ।’’