थारू समुदायको प्रमुख सांस्कृतिक तथा सामाजिक पर्वकाे रुपमा रहेकाे अटवारी पर्व आज मनाइँदैछ।
हरेक वर्ष कृष्ण जन्माष्टमीपछिको दोस्रो साताको आइतबार तथा कुशेऔंसी पछिको पहिलो आइतबारका दिन अटवारी पर्व मनाइन्छ। अटवारी मुलतः थारु समुदायका पुरुषले मनाउने पर्व हो। तर, थारु समुदायका महिला पनि अटवारी व्रत बस्ने गर्दछन्।
पश्चिम नेपालको कैलाली, कञ्चनपुर, बर्दिया र दाङ जिल्लाका थारु समुदायले अटवारी पर्व मनाउने गरेका छन्। थारु समुदायको यो माघीपछिको दोस्रो प्रमुख सांस्कृतिक, सामाजिक पर्व हो। अटवारीको अघिल्लो दिन अर्थात् शनिबार मध्य रातीमा दर खाएर यो पर्व सुरु हुन्छ। आइतबार ब्रत बस्ने गरिन्छ।
साँझ प्रत्येकले आफ्नो घरको छुट्टै कोठा लिपपोत गरेर चोखो रूपमा रोटी, पूरी पकाएर अटवारी पुजा गर्ने गर्दछन्। अटवारी पुजामा रोटी, काँक्रो, दही, केरा, बेलौटीलगायतका अग्रासन झिकेर पूजा गरिन्छ। त्यसको भोलिपल्ट बिहान पाँच अथवा सात प्रकारका गेडागुडीयुक्त तरकारी र भातको फरहार गरिन्छ।
फरहारपछि आफ्ना विवाहित चेलीबेटीलाई अग्रासन दिन जाने चलन रहेको छ। अटवारी माइतीले आफ्ना चेलीबेटीलाई सम्मान दिने तथा दाजुभाई र दिदीबहिनीबीच मायाप्रेम साट्ने पर्वका रूपमा स्थापित छ। त्यस्तै, अटवारीलाई एकता, विजय तथा भातृत्व प्रेमको प्रतीकका साथै बल र सुरक्षाको प्रतीकका रुपमा मनाइने गरेको छ ।