अमेरिकाबाट गोश्वारा हुलाक कार्यालय हुँदै पठाइएको लागू औषध गाँजासहित कन्ट्रोल डेलिभरी (हुलाकी)गर्ने व्यक्तिसहित १० जना पक्राउ परेका छन्। लागू औषध नियन्त्रण ब्युरो, कोटेश्वरले अमेरिकाबाट गोश्वारा हुलाक कार्यालय, डिल्लीबजार हुँदै पठाइएको लागू औषध गाँजा तीन केजी २३९ ग्राम कन्ट्रोल डेलिभरीको क्रममा ६ जना र खैरो हेरोइन २६८.२१० ग्रामसहित चार जना गरी १० जनालाई विभिन्न मितिमा पक्राउ गरिएको हो ।
ब्युरोका प्रहरी उपरीक्षक एवम् प्रवक्ता चक्रराज जोशीले लागू औषध नियन्त्रण ब्युरोबाट गरिएको कन्ट्रोल डेलिभरी तथा अन्य कारवाहीका क्रममा अवैध लागू औषध कारोवार गर्ने व्यक्तिलाई लागू औषधसहित पक्राउ गरिएको जानकारी दिनुभयो । पक्राउ गरिएकाहरुलाई लागू औषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम जिल्ला अदालतबाट लागू औषध मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको छ।
यही भदौ १९ गते अमेरिकाबाट काठमाडौं महानगरपालिका–३० गोश्वारा हुलाक कार्यालय डिल्लीबजार मार्फत जिल्ला हुलाक कार्यालय वीरगञ्जमा प्राप्त हुने गरी पठाइएको कार्टुन बक्सा शङ्का लागेर चेकजाँच गर्दा अवैध लागू औषध गाँजा ९०० ग्राम बरामद गरिएको थियो । उक्त कार्टुन बक्स प्राप्त गर्ने वीरगञ्ज महानगरपालिका–१६ बस्ने ३२ वर्षीय डल्लु राम र सोही ठाउँका ४३ वर्षीय हविब मियालाई यही भदौ २४ गते पक्राउ गरिएको हो ।
प्रवक्ता जोशीका अनुसार दुवै जनालाई वीरगञ्ज उपमहानगरपालिका–८ जिल्ला हुलाक कार्यालयबाट पक्राउ गरी लागू औषध नियन्त्रण ऐन २०३३ बमोजिम ब्युरोबाट आवश्यक अनुसन्धान भइरहेको छ ।
यसैगरी, अमेरिकाबाट गोश्वारा हुलाक कार्यालयमार्फत जिल्ला हुलाक कार्यालय पोखरामा प्राप्त हुने गरी पठाइएको अवैध लागूऔषध गाँजा १ केजी ४०० ग्राम बरामद गरिएको हो । उक्त पार्सल प्राप्त गर्ने भारतीय नागरिक २४ वर्षीय अजिन बर्गेसलाई भदौ २५ गते पक्राउ गरिएको हो । साथै बर्गेसको डेराबाट थप अवैध लागू औषध गाँजा ७२० ग्राम बरामद गरी लागू औषध नियन्त्रण ऐन २०३३ बमोजिम ब्युरो तथा व.प्र.का. बैदामबाट समेत आवश्यक अनुसन्धान भइरहेको जानकारी उहाँले दिनुभयो ।
त्यस्तै, गोश्वारा हुलाक कार्यालय डिल्लीबजारबाट भदौ २४ गते पाउने गरी पठाइएकोमा अवैध लागू औषध गाँजासहितको जिल्ला डडेलधुरा, गन्यापधुरा गारपालिका– १ बस्ने ३९ की रेनुका तामाङलाई पक्राउ गरी अवैध लागू औषध गाँजा ९३९ ग्राम बरामद गरिएको छ । तामाङलाई सो सम्बन्धमा आवश्यक अनुसन्धान गर्दै जाँदा उक्त सामान भारतीय नागरिक ३० वर्षीय अरुणकुमार र मोहमद नईमले लिन पठाएको अनुसन्धानबाट खुलेको प्रवक्ता जोशीले बताउनुभयो । भारतीय नागरिक कुमार र नईमलाई पक्राउ गरी लागू औषध नियन्त्रण ऐन २०३३ बमोजिम यस ब्युरोबाट आवश्यक अनुसन्धान भइरहेको ।
यसैगरी, भदौ २३ गते लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय, धनगढीबाट खटिएको प्रहरी टोलीले जिल्ला कञ्चनपुर, बेलडाँडी नगरपालिका–८ बाट कञ्चनपुर, बेलडाडी नगरपालिका–१० बस्ने वर्ष २६ को हिक्मत हमालको साथबाट अवैध लागू औषध खैरो हेरोइन ४७.८५० ग्रामसहित पक्राउ गरी थप अनुन्धानका लागि इलाका प्रहरी कार्यालय बेलडाँडी बुझाइएको छ ।